झापा,हल्दिबरी । झापाको अर्जुनधारामा सुरु भएको इन्डो–नेपाल यू–१३ टी–२० क्रिकेट प्रतियोगितामा बोस्टन क्रिकेट एकाडेमी र सरस्वती क्रिकेट एकाडेमीले सुखद सुरुवात गरेका छन्। अर्जुनधारा–९ स्थित नमुना खेल मैदानमा शुक्रबार भएको उद्घाटन खेलमा बोस्टनले मिलन क्रिकेट एकाडेमी, काँकरभिट्टालाई १ सय ४३ रनको फराकिलो अन्तरले पराजित गर्‍यो।
टस जितेर ब्याटिङ रोजेको बोस्टनले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २ सय १६ रनको विशाल योगफल खडा गरेको थियो। बोस्टनको जितमा कप्तान एनोक राई नायक बने। उनले मात्र ४२ बलमा १ सय ३ रनको शतकीय इनिङ्स खेले। यस्तै प्रत्यक्ष बास्तोलाले ४४ रनको योगदान दिए। २ सय १७ रनको कठिन लक्ष्य पछ्याएको मिलन क्रिकेट एकाडेमी १३.१ ओभरमा ७४ रनमै समेटियो। उसका सुभम सर्दनले १५ र निरज भट्टराईले १२ रन बनाउनु बाहेक अन्यले दोहोरो अंक जोड्न सकेनन्। बलिङतर्फ बोस्टनका पिउस राजवंशी र इन्दिप बस्नेतले २–२ विकेट लिए। शतकधारी एनोक ‘प्लेयर अफ द म्याच’ घोषित भए।
शुक्रबारै भएको दोस्रो खेलमा धुलाबारीको सरस्वती क्रिकेट एकाडेमीले दमकको आस्था क्रिकेट एकाडेमीमाथि ८७ रनको जित निकाल्यो। पहिले ब्याटिङ गरेको सरस्वतीले ६ विकेटको क्षतिमा १ सय ४९ रन बनाएको थियो। निजल राईले ३५ र कुश साहले २८ रन जोडे। जवाफी ब्याटिङमा उत्रिएको आस्था १२.२ ओभरमा ६२ रनमा अलआउट भयो। आस्थाका कुनै पनि ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन्। सरस्वतीका अनुराग आचार्यले ४ र कुश साहले २ विकेट लिए। अलराउन्ड प्रदर्शन गरेका कुश ‘म्यान अफ द म्याच’ चुनिए।

प्रतियोगिताको विवरण

  • सहभागी टोली: १० (नेपालका ८ र भारतका २)
  • पुरस्कार राशि: विजेतालाई १ लाख र उपविजेतालाई ५० हजार रुपैयाँ।
  • प्रणाली: लिग–कम–नकआउट (शीर्ष दुई टोली सेमिफाइनल पुग्ने)।
    प्रतियोगिताको उद्घाटन अर्जुनधारा नगरपालिकाका नगरप्रमुख बलदेवसिंह गोम्देनले गरेका थिए। अर्जुनधारा नगर खेलकुद विकास समितिको आयोजना तथा बोस्टन क्रिकेट एकाडेमीको सह-आयोजनामा संचालित प्रतियोगिताको उद्घाटन समारोहमा पूर्व राष्ट्रिय खेलाडी लाक्पा लामा लगायतको उपस्थिति थियो।
    शनिबार पहिलो खेलमा इनरुवा क्रिकेट एकाडेमी र लायन्स क्रिकेट एकाडेमी, विराटनगरबीच प्रतिस्पर्धा हुनेछ भने दोस्रो खेलमा फुबारी एकाडेमी इनरुवा र भारतको हाई पर्फमेन्स क्रिकेट एकाडेमी भिड्ने आयोजकले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार