हल्दिबारी डटकम
Hover Ad Article
कला / साहित्य / चलचित्र
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

उनै लेखिका Kyrzayda Rodriguez प्रति समर्पित कविता : “घमण्ड के काे लागि महाशय?”

प्रिय! मान्छेहरु
आज म पलपल मर्दै
याचना सहितको जीवन बाँचिरहेछु
अनि जिवनको मूल्य कति रहेछ
नजिकबाट बुझेकी छु
अब मलाई ती सब, केही पनि चाहिएन
फगत केवल एक मुठी सास भएको जीवन
अनि जीवन भित्रै जीवन खोजिरहेछु
म जवानी हुँदा, मलाई लाग्थ्यो
मसँग के छैन सुनमा सुुन हिरामा हिरा
तर आज एउटा डाँडा पारीकाे
डुब्न लागेको घाम झैं बनेर
एउटा सुन्दर शहर बाट
उजाड मरुभुमिको पर्खाइमा छु ।
हो! आज, ग्यारेजमा मेरो
संसारकै महंगो कार थन्किएको छ।
म केवल ह्विलचेयरकाे सहारामा
अस्पतालको काेठामा यताउता गरिरहेकी छु।
मेरा ति बहुमूल्य कपडा, गरहनाहरुले भरिभराउ
त्यो मेरो आलिसान घर, आज मेरो हाेइन
म त केवल अस्पतालले दिएको
सामान्य कपडाले लाज ढाकेकी छु।
रोगले थालिएको यो अवस्थामा
बैँकमा भएको त्यो प्रशस्त बैंक ब्यालेन्स
अनि भएका जुहारतहरुले
आज कुनै काम काटेको छैन।
हो! मेरो घर
पाँचतारे होटल भन्दा कम थिएन
तर आज अस्पतालको सानाे काेठा भित्रै सीमित भएर
जीवन र मृत्युको अन्तिम लडाईंमा छु।
हिजो सम्म एउटा शहरको पाँचतारे होटलबाट
अर्को शहरको पाँचतारे होटलसम्म जाँदा
अगौटे पिछौटेहरुकाे लावालस्कर र ताँती लाग्थ्यो
तर आज अस्पतालको एउटा ल्याबबाट
अर्को ल्याबसम्म पुग्न हस्पिटल कै नर्सहरुको
सहायता मागेकी छु।
यहाँ नातागोता, स्टमित्र, साथी भाई
आफन्तीहरु कोहि काम लाग्दैनन्।
ति त केवल बलेको आगो ताप्ने मात्र हुन
अनि मन बहलाउने फगत कुरा मात्र हुन
हो हिजो मैले चाहँदा,
आफ्नै जेटमा चढेर बिश्व भ्रमण गर्न सक्थेँ
तर, आज अस्पतालको गेटसम्म पुग्नका लागि पनि
अरु कसै को सहारा कुरिरहेकी छु
साँझ बिहान राेजि राेजि स्वादिष्ट
भोजनहरुमा रमाउने म,
आज औषधिका केही ट्याब्लेटहरु
र नुनिलो पानी भरमा यो श्वास अडाएकी छु
हाे! हिजो मैले
मेरो कपाल मिलाउनका लागि मात्र
दर्जनौं कामदारहरु राखेकी थिएँ
तर, आज मेरो त्यही टाउकामा
एउटा पनि कपालको रौँ बाँकी छैन।
यहाँ जीवनमा कैयौँ मानिसहरुलाई
मैले अटो ग्राफहरु दिएको हिजो जस्तो लाग्छ
तर आज मेरो लागि डाक्टरको प्रेश्कृप्शन
अनि अस्पताल दिएको रेकर्ड नै
मेराे निम्ति जीवनको ठूलो अटो ग्राफ भएको छ।
खै, कसरी भनौं म,
जीवन भन्दा ठूलो अरु पनि हाेइन भनेर
मेरा ति अलिशान महल , महंगो कार,
बहुमूल्य गरगहना लत्ताकपडा,
ब्यापार-आम्दानी, कृति र प्रसिद्धि,
बैंक ब्यालेन्स नातागोता, स्टमित्र
साथी भाई आफन्त भनेर
आडम्बर गर्नु बेकार रहेछ
यहाँ कोहि काे केही काम छैन।
आज म नचाहँदा नचाहँदै पनि
मृत्युलाई नजिकबाट नियालिरहे छु
मृत्यु सँग लड्दा लड्दै हारि सकेकी छु
अब त म सँग रिस, राग, घमण्ड केही बाँकी छैन महाशय!
बाँकी छ त अब केवल त्यही एक मुठी सास
यस्तो लाग्छ अब त मेरो लागि त्यही मृत्यु नै प्रिय छ!!!
त्यसैले आज म साेधिरहे छु
यहाँ “घमण्ड किन र के काे लागि महाशय?”
(मृत्यु र जीवनको दाेसाँधमा लडिरहेकी बिश्व प्रख्यात फेशन डिजाइनर तथा लेखक Kyrzayda Rodriguez सँस्मरण पढेपछि उहाँ कै शब्द सापटी लिएर धेरै दिन पछि कविता लेख्ने प्रयास, …… कस्तो लाग्छ? जस्तो त्यस्तै प्रतिक्रिया को अपेक्षा राखेको छु)
याम दंगाल सराेवर
झापा नेपाल
मिति २०८०/०४/०७
Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)