झापा । हुलाकी राजमार्ग अन्तर्गत झापाको गौरीगञ्जमा कार र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा परी मोटरसाइकलमा सवार मोरङका दुई युवकको ज्यान गएको हो ।

मृत्यु हुनेहरूमा मोटरसाइकल चालक मोरङको रतुवामाई नगरपालिका–५ गोविन्दपुर निवासी ३० वर्षीय मोहम्मद नुर इस्लाम र पछाडि सवार सोही ठाउँका ३५ वर्षीय एनबी मोजाबुल हक रहेका छन् ।

प्रहरीका अनुसार शुक्रबार दिउँसो १ बजे गौरीगञ्ज गाउँपालिका–२ स्थित कृष्ण खोला नजिकै पश्चिम विराटनगरबाट पूर्व तुलाचन चोकतर्फ आउँदै गरेको प्र १–०२–००२ च ५१०१ नम्बरको कार र विपरीत दिशाबाट जाँदै गरेको बीआर ३८ एच ५५४७ नम्बरको मोटरसाइकल ठोक्किएका थिए ।
गम्भीर घाइते भएका मोटरसाइकल चालक इस्लामलाई उपचारका लागि दमक अस्पताल पुर्याउनासाथ चिकित्सकले मृत घोषित गरेका थिए । यस्तै, दुर्घटनामा गम्भीर घाइते भएका मोजाबुल हकलाई थप उपचारका लागि न्युरो अस्पताल विराटनगर लगिएकोमा उपचारकै क्रममा चिकित्सकले मृत घोषणा गरेका हुन् ।
दुर्घटनामा कार चालक विराटनगर महानगरपालिका–१३ निवासी ३५ वर्षीय विवेक सिंह पनि घाइते भएका छन् । उनको विराटनगरस्थित विराट नर्सिङ होममा उपचार भइरहेको छ । इलाका प्रहरी कार्यालय गौरीगञ्जले दुवै सवारीसाधनलाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।
