काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताका लागि आह्वान गरेका छन् ।वरिष्ठ नेता माधवकुमार नेपाल समूहले देशव्यापी समानान्तर कमिटी निर्माण गर्दै अलग पार्टी अभ्यास गरिरहेकाबेला प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओलीले पार्टी कमिटीहरुलाई जेठ २ मा फर्काउने घोषणासमेत गरेका हुन् ।
‘नेकपा एमालेलाई २०७५ साल जेठ ३ गते पूर्वको अवस्थाबाट अगाडि बढाइनेछ,’ अध्यक्ष ओलीले लेख्नुभएको छ, ‘नेकपाको केन्द्रीय कमिटीका सदस्यहरुमध्ये एकताको पक्षमा उभिनुभएका कमरेडहरुलाई आधार मानेर केन्द्रीय कमिटी र स्थायी कमिटीका संरचना गतिशील हुनेछन् ।’
अध्यक्ष ओलीले मातहतका कमिटी र जनसंगठनहरु मूलभूतरुपमा २०७५ जेठ ३ गते पूर्वको अवस्थामा फर्केर क्रियाशील हुने बताएका छन् । उनले संगठनात्मक क्षेत्रका निष्कर्षहरु कार्यान्वयन गर्ने क्रममा देखा पर्ने समस्या समाधानका लागि कार्यदलले काम गने उल्लेख गरेका छन् ।
अध्यक्ष ओलीले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन सर्वोच्च अदालतमा प्रस्तुत रिट निवेदनमा प्रयोग गरिएका एमाले सांसदको हस्ताक्षर फिर्ता लिने, विगतमा नेताहरुमाथि गरिएको कारबाही फिर्ता लिने, एमालेलाई वैचारिक, सांगठनिक र भावनात्मकरुपले अनुशासित बनाउन अलग समूहमा रहेका नेताहरुले सहयोग गर्ने विश्वास लिएका छन् ।

















