समाचार
हल्दिबारी संवाददाता १० महिना अगाडि

कचनकवल गाउँपालिकाका उपाध्यक्षको अपिल: “धैर्य र एकताका साथ विपत्तिबाट बाहिर निस्कौं”

झापा । देशभरि राजनीतिक घटनाक्रमले मानवीय क्षति पुर्‍याउँदै प्रशासनिक संरचना, व्यक्तिगत सम्पत्ति, कलकारखाना र व्यापारी भवनहरूमा ठूलो नोक्सानी गरेको छ। झापाको कचनकवल गाउँपालिकामा समेत प्रशासनिक भवन र वडा कार्यालयहरू जलेर खरानी भएका छन्। क्षतिको पूर्ण विवरण आइसकेको छैन।

यस अवस्थाप्रति गहिरो दुःख व्यक्त गर्दै गाउँपालिकाका उपाध्यक्ष नवराज भट्टराईले सहिद भएका युवा, सुरक्षाकर्मी तथा जीवन गुमाउने सबैप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्। शोकाकुल परिवारजनप्रति समवेदना प्रकट गर्दै उनले आन्दोलनका माग र सपनालाई सम्मानपूर्वक अघि बढाउने प्रतिबद्धता जनाएका छन्।

विज्ञापन (Advertisement)Advertisement

भट्टराईले भने, “जनप्रतिनिधिका हैसियतले काम गर्ने क्रममा कतिपय कमजोरी हुन गएको स्वीकार्छु। अब आगामी दिनमा कुनै पनि जनभावनाविपरीत काम नगर्ने प्रतिबद्धता गर्दछु। यो कठिन परिस्थितिबाट हामीले फेरि समाज र देशलाई सुन्दर बनाउनै पर्छ।”

उनले सबैलाई धैर्य धारण गर्न, सामाजिक एकता र सद्भाव कायम राख्न आग्रह गरेका छन्। सुरक्षा संयन्त्र कमजोर अवस्थामा भएकाले स्थानीय नागरिक आफैं पनि सचेत रहनुपर्ने उनको भनाइ छ। लोकतान्त्रिक व्यवस्थामा निर्वाचनमार्फत नै दलहरूको मूल्यांकन हुने भएकाले विभाजनमा नपरी विचार र दृष्टिकोणका आधारमा जनताको विश्वास जित्नुपर्ने भट्टराईको अपिल छ।

यस्तै, अविरल वर्षाले बाढीको जोखिम बढेको भन्दै उनले बिरिङ्ग, मेचि र भुतेनी नदी आसपासका क्षेत्रमा सतर्क रहन आग्रह गरेका छन्। विपत्तिको अवस्थामा एकअर्कालाई सहयोग गर्न उनले सबै कचनकवलवासीलाई अनुरोध गरेका छन्।

भट्टराईले अन्त्यमा भने, “विचलित नहुनुहोस्, हामी चाँडै नै प्रशासनिक संयन्त्रलाई पुनः सञ्चालनमा ल्याउनेछौं।”

विज्ञापन (Advertisement) Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)