कनकाई, झापा । झापाको कनकाई नगरपालिका वडा नम्बर ६, चम्पापुरमा गएराति भएको आगलागीबाट करिब तीन लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ। स्थानीय टंक प्रसाद फुयालको काठ र टिनको छानो भएको एकतले ग्वालीमा राति १०:०० बजेको समयमा अचानक आगलागी भएको हो।
आगलागीको जानकारी प्राप्त हुनासाथ अस्थायी प्रहरी बिट दुर्गापुर र इलाका प्रहरी कार्यालय अनारमनीबाट प्रहरी टोली घटनास्थलमा पुगेको थियो। प्रहरी, स्थानीय बासिन्दा र बिर्तामोड नगरपालिकाको दमकलको अथक प्रयासपछि राति १०:४० बजे आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको थियो।
उक्त आगलागीबाट ग्वालीभित्र भण्डारण गरिएको २० मन धान, परालको कुनिउ र काठ लगायतका सामग्रीहरू जलेर नष्ट भएका छन्। प्रारम्भिक विवरण अनुसार आगलागीबाट जम्मा ३ लाख रुपैयाँ बराबरको आर्थिक क्षति भएको प्रहरीले जनाएको छ। आगलागीको कारण भने अझै खुल्न सकेको छैन। सौभाग्यवश, यस घटनामा कुनै मानवीय वा चौपाया क्षति भने हुन पाएन। अहिले घटनास्थलमा प्रहरीले थप मुचुल्का तयार गर्ने काम गरिरहेको छ।

















