रिजन तिम्सिना | झापा
झापा जिल्लाको कनकाई नगरपालिका बालमैत्री स्थानीय शासनयुक्त नगरपालिका घोषणा भइसकेपछि बालमैत्री अभियानलाई निरन्तर र प्रभावकारी रूपमा अघि बढाइरहेको छ। बालमैत्री दिगोपना सुनिश्चित गर्ने उद्देश्यसहित नगरपालिकाले वडा स्तरीय बाल संजाल पुनर्गठनलाई प्राथमिकतामा राखेको जनाएको छ।
कनकाई नगरपालिका मातहतको नगर बाल संजालले प्रत्येक वडामा बाल संजाल सक्रिय बनाउने अभियान थालेको छ। यसैक्रममा वडा नम्बर ६ मा नवचेतना वडा बाल संजाल तथा वडा नम्बर २ मा सक्षम वडा स्तरीय बाल संजाल पुनर्गठन कार्यक्रम सफलतापूर्वक सम्पन्न गरिएको नगर बाल संजालले जनाएको छ।
नगर बाल संजालका अनुसार बाँकी वडाहरूमा पनि चरणबद्ध रूपमा बाल संजाल पुनर्गठन कार्यक्रम सञ्चालन गरिनेछ। यस अभियानले बालबालिकाको सहभागिता अभिवृद्धि, नेतृत्व विकास तथा बाल अधिकार संरक्षण र प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।
कनकाई नगरपालिकाका बालकल्याण अधिकारी उमानाथ दकालका अनुसार गत आर्थिक वर्षमै कनकाई नगरपालिका बालमैत्री स्थानीय शासनयुक्त स्थानीय तह घोषणा भइसकेपछि बालमैत्री अभियानलाई थप सशक्त बनाउनेतर्फ नगरपालिकाले नयाँ तथा प्रभावकारी कार्यक्रमहरू अघि सारिरहेको छ।
यसैक्रममा नगरपालिकाले आगामी १५ गतेदेखि चार दिने नमुना बाल नगर सभा अभ्यास कार्यक्रम आयोजना गर्न लागेको जनाएको छ। उक्त कार्यक्रममार्फत बालबालिकालाई स्थानीय शासन प्रक्रिया, सहभागिता र नेतृत्व विकाससम्बन्धी व्यवहारिक ज्ञान प्रदान गरिनेछ।
बालमैत्री स्थानीय शासनको दिगोपनाका लागि स्थानीय तह, बाल संजाल, विद्यालय तथा समुदायबीच प्रभावकारी सहकार्य अपरिहार्य रहेको सरोकारवालाहरूले बताएका छन्।


















