मकवानपुर । बकैया गाउँपालिका–११ का वडा सदस्य ज्ञानबहादुर गोलेको करेन्ट लागेर मृत्यु भएको छ।
वडा समितिको नियमित बैठकमा सहभागी हुन पिपलडाँडास्थित घरबाट आँपचौरस्थित वडा कार्यालयतर्फ जाँदै गर्दा उनी बाटोमै करेन्टको शिकार भएका हुन्।
स्थानीयका अनुसार हावाहुरीका कारण विद्युत् लाइनको तार चुँडिएर बाटोमा लत्रिएको थियो। घरबाट करिब २०० मिटर टाढा पुग्दा गोले उक्त लत्रिएको तारमा छोइएपछि घटनास्थलमै मृत्यु भएको बताइएको छ।
वडाध्यक्ष गोपाल न्यासुरका अनुसार हावाहुरीले तार चुँडिएर लत्रिएको थियो र सोही बाटो भएर हिँडिरहेका स्थानीय तथा विद्यार्थीहरूले घटना देखेपछि जानकारी भएको हो।
४२ वर्षीय गोले २०७४ र २०७९ को स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट वडा सदस्यमा निर्वाचित भएका थिए।
प्रहरीले घटनास्थलमै मृत्यु भएको पुष्टि गरेको छ। उनको शव पोस्टमार्टमका लागि हेटौंडा पठाइएको छ।
मृतकका श्रीमती र ७ महिनाकी छोरी रहेका छन्। फाइल तस्बिर
