(आजको जेन जेड आन्दोलन सन्दर्भ :भोक कविता-२)

– देवेन्द्र किशोर ढुङगाना

गाउँमा चोर नेता आयो,

माथि झण्डा, भित्र धन्दा, मुखमा जनताको फण्डा,

हातमा माला,

मन मनमा ताला —

सत्ता नै छ प्यारा ।

भोकाले चुलो

निभाउँदै छ,

तर ऊ भने

सिंहदरबारको चुलोमा भात पकाउँदै छ ।

 

गाउँको रुख मरेको छ — रुख होइन,

विश्वास ढलेको छ,

आकाशमा धुवाँ

उठेको छ —

त्यो आगो होइन,

विद्रोह हो त्यो ।

तर नेता भन्छ —

“शान्त रहो,

हाम्रो पालो आउँदैछ”,

तर जनताको पालो कहिल्यै आउँदैन,

जसरी चन्द्रमाले पनि कहिल्यै धरती छोएन ।

यो देशमा आन्दोलनहरू

पुस्तकका शीर्षक बने,

भोकहरू कविताका पंक्तिहरू बने,

र नेताहरू?

नेताहरू भने

सधैं चोरका

पर्यायवाची बने ।

जेन जेडको एक हातमा मोबाइल छ,

अर्को हातमा मुठ्ठी,

उनीहरू ट्वीट गर्छन् — “हाम्रो पेट भोकै छ”,

फेसबुकमा लेख्छन् — “देश जल्दै छ”,

र सडकमा चिच्याउँछन्

“अब तिम्रो

नाटक चल्दैन,

पुरानो किताब जल्दैन!”

गाउँमा चोर नेता आयो

आफ्नो भाषणमा जनताको

स्वर्गको कथा सुनायो,

तर जनताको घरमा

स्वर्ग होइन,

भोक र ऋणको नर्क छ ।

उसको भाषणमा

क्रान्ति हुन्छ,

तर उसको बैंक खातामा भ्रष्टाचारको थुप्रो छ ।

आमा भन्छिन् —

“छोरा, अब पढेर

के गर्ने?”

छोरो भन्छ —

“म नेता बन्छु —

ताकि कहिल्यै भोकले नमरोस्।”

त्यो वाक्यले गाउँभरि बिजुलीको जस्तो

झट्का दिन्छ,

तर नेता भने हाँस्दै भन्छ “तिमी त योग्य छौ,

हाम्रो दलमा आऊ।”

भोकको आन्दोलन

सुरु भयो —

पहिलो नारा

: “भात होइन भने

न्याय देऊ।”

दोस्रो नारा :

“न्याय छैन भने सिंहदरबार घेर्न देऊ।”

तेस्रो नारा :

“अब चोर नेताको सरकार होइन,

जनताको सरकार देऊ।”

युवाहरू सडकमा उत्रिए,

जसको हातमा

किताब थियो,

अब ढुंगा छ,

जसको ओठमा

गीत थियो,

अब नारा छ,

र जसको आँखामा सपना थियो,

अब प्रतिरोधको

ज्वाला छ ।

गाउँमा चोर नेता आयो

तर योपटक

गाउँले मौन छैनन्,

उनीहरूले बुझेका छन्

लोकतन्त्र नामको जालमा माछा

जनतामात्र हो,

र काँडा नेताको गिद्धमुखमा छ ।

अब गाउँमा आवाज गुञ्जिन्छ —

“हामी डराउँदैनौं,

हामी बेचिँदैनौं,

हामी अब सत्ताको

भाँडो होइनौं!”

बुढा किसानको

ओठबाट आगो झर्छ,

आमाको आँशु

विद्रोहको नदी बन्छ,

र बालकको पेटको भोक बन्दुकको गोलीभन्दा तिखो नारा बन्छ ।

सहरका पत्रकारहरू लेख्दैछन् —

“यो जनताले हद गरे

, यो हिंसा हो”,

तर उनीहरू भुल्छन् —

भोक पनि

हिंसाकै रूप हो,

जब भात छैन, भाषणको स्वादले पेट भर्दैन ।

जेन जेडको क्रान्ति नेटबाट सडकमा उत्रिएको छ,

यो केवल माइकको

ध्वनि होइन,

यो पीढीको

आत्माको गर्जन हो ।

नेता त अझै ढोंगमा व्यस्त छन् —

“हामी परिवर्तन ल्याउँछौं” भन्छन्,

तर परिवर्तन अब तिनको हातमा होइन,

यो मुठ्ठीमा छ —

जसले अब “चोर!” भन्छ र हिचकिचाउँदैन ।

गाउँमा चोर नेता आयो,

तर अब गाउँमा डर छैन ।

छतमा युवाहरूको झण्डा फर्फराउँदै छ,

त्यो कुनै दलको होइन — जनताको झण्डा हो ।

गाउँको चोकमा भोकको संविधान लेखिँदैछ,

कलम-रगतको मसीले।

अब क्रान्ति

चुनावी नारा होइन,

यो जिब्रोमा होइन — जिब्रोको रगतमा लेखिएको छ ।

अब भोट होइन,

प्रतिरोध मागिन्छ,

अब पद होइन,

बराबरी मागिन्छ,

अब “नेता ” होइन, “साथी” भनिन्छ ।

गाउँमा चोर नेता आयो,

तर योपटक

उसले माला पाएन,

ढुंगा पायो ।

उसको भाषण रोकियो युवाको एक धक्काले,

“भोक देशको शत्रु हो,

र जो त्यसलाई

नदेख्ने नेता हो,

त्यो पनिदेशको शत्रु हो।”

र जब सूर्य अस्ताउँछ —

गाउँका पर्खालमा लेखिएको हुन्छ,

कालो कोइला र

रातो रगतले —

“अब हाम्रो देश

बिक्रीमा छैन,

अब हाम्रो पेट मौन छैन,

अब हामी जनताको नाममा चोर होइन,

जनताको नाममा

जनता उठेका छौं।”

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0

+1
0

+1
0

+1
0

+1
0

+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार