समाचार
हल्दिबारी संवाददाता ३ महिना अगाडि

कविता : ‘नयाँ वर्ष आओस’

  • देशबन्धु क्षेत्री
    नयाँ वर्ष
    आउन त आओस
    मन खुम्चाएर होइन,
    मन फुकाएर, उज्यालो बोकेर आओस।

आओस त्यो यस्तो समय बनेर,
जहाँ हरेक किसानको पसिनामा
सुनौलो बाली लहलहाओस्,
जहाँ माटोको गन्धम
आशाको हरियोपन फक्रियोस्।

नयाँ वर्ष
प्रत्येक साना नानीको
निर्मल हाँसो बनेर आओस,
तोते बोलीको मिठाससँगै
भोलिको सुन्दर सपना बोकेर आओस।

विज्ञापन (Advertisement)Advertisement

म त भन्छु—
नयाँ वर्ष आउनु पर्छ,
तर केवल पात्रो फेरिने होइन,
मन फेरिने परिवर्तन बनेर आओस।

यो वर्ष
रोगीका लागि औषधि बनेर आओस,
पीडामा मल्हम बनेर आओस,
थाकेका जीवनहरूमा
नयाँ ऊर्जा र भरोसा बनेर आओस।

नयाँ वर्ष
अन्धकार चिर्दै
न्यायको उज्यालो लिएर आओस,
अन्याय र अत्याचारका विरुद्ध
साहसको आवाज बनेर आओस।

म त फेरि पनि भन्छु
नयाँ वर्ष आउनु पर्छ,
तर केवल शुभकामना होइन,
सत्य, न्याय र समानताको
जीवन्त प्रतिज्ञा बनेर आओस।

मनहरू खुला बनाउँदै,
दूरीहरू नजिक ल्याउँदै,
घाउहरू निको पार्दै,
नयाँ वर्ष हामी सबैका लागि
नयाँ सम्भावनाको ढोका बनेर आओस।

आउन त आओस
मन खुम्चाएर होइन,
मन फुकाएर,
उज्यालो भविष्यको भरोसा लिएर आओस।

विज्ञापन (Advertisement) Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)