समाचार
हल्दिबारी संवाददाता ८ महिना अगाडि

कविता : प्रेम कथा (दयानन्द गोस्वामी)

मेरा जीवन–कथाका हरफ
चुपचाप टुट्दै गए,
कुनै वाक्य कतै झरेको भयो,
कुनै उज्यालो अक्षर
आफैँ मेटिएको होला।

त्यो अपूर्ण पानाभित्रै
तिम्रो–मेरो संयुक्त कथा
अझै धड्किरहेको छ—
बिर्सनेहरूले के नै बदलिदिन सक्छन् र?
इतिहासले सम्झनैपर्छ
आँसुले छापिएका पृष्ठहरू।

विज्ञापन (Advertisement)Advertisement

कहिल्यै सम्हाल्न नसकिएका शब्दहरू
छरिए पनि
कथा त बाँचिरहेकै छ—
मौन भएर,
तर अजर भएर।

मलाई मधुर प्रेमको स्वाद
पहिलो पटक चखाउने
मुख्य पात्र त तिमी नै थियौ,
शब्दभन्दा पर रहेर
मनको गहिराइमा बस्ने एक उपस्थिति।

ती प्रेमांकमालका रंगीन पल
सम्झँदा शरीरभरि
एक किसिमको परेलाजस्तै रोमाञ्च उठ्छ।
आँखा चिम्लँदा त
नीलाम्बरको शून्यमा
म स्वयं हलुका भएर उडिरहेझैँ लाग्छ।

त्यहाँ कोही हुँदैन—
केवल भावनाहरूका
मौन ग्रहहरू घुमिरहेका हुन्छन्।

म तिलस्मी धुनझैँ हराउँदै जान्छु,
फेरि कोमल हातले
प्रेमान्जलीले बोलाउँछ—
स्वागतको उस्तै उष्णता लिएर।

जीवन–यात्राका ती मोडहरू
आज पनि चनाखो भएर सोधिरहेका छन्—
कहीँ सीमा नाघ्यौँ कि?
जहाँबाट फर्कने आकाश नै बन्द हुन्छ।

एकछिन स्तब्ध भएर
उही प्रश्नमा अडिन्छु,
र…
फेरि हराउँदै जान्छु
सपनाको त्यहीँ
निर्लिप्त, निःशब्द संसारमा।

विज्ञापन (Advertisement) Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)