- देवेन्द्र के. ढुङगाना
मेरो देश जलिरहेछ
तर यो आगो केवल विनाशको होइन,
यो आक्रोशको आगो हो,
यो चेतनाको
ज्वाला हो,
यो पुस्तौंदेखि थिचिएका आवाजहरूको विस्फोट हो।
गल्ली–गल्लीमा आवाजहरू उर्लिरहेका छन्,
किन न्याय किनबेचमा छ?
किन सपना धनीको दरबारमा
बन्दी छन्?
किन श्रम पसिनाको मूल्य
सत्ता र सिफारिसको तराजुमा तौलिन्छ?
मेरो देश जलिरहेछ
कागजमा विकासका रंगीन नक्सा छन्,
तर खेतबारी
बाँझै छन्,
युवाको
हात खाली छ,
र पेटमा
भोकको राजनीति गडेर बसेको छ।
सत्ताका कुर्सीहरू
सिर्फ काठ र फलामका होइनन्,
त्यो कुर्सीमा टाँसिएको छ—
भ्रष्टाचारको गन्ध,
झूटको धूलो,
र जनताको विश्वासको चिता दन्किरहेछ ।
सामन्ती सोच अझै मरेको छैन,
ऊ रूप बदल्दै फर्किन्छ,
कहिले नीति बनेर,
कहिले
भाषण बनेर,
कहिले देशभक्तिको मुखुण्डो लगाएर।
प्रतिक्रियावादीहरू
इतिहासको पानामा हारिसके पनि,
वर्तमानको गल्लीमा अझै
घुमिरहेका छन्,
उनीहरूको हातमा
पुरानै सत्ता–संरचना,
पुरानै दासता बाँड्ने योजनामा छन ।
मेरो देश जलिरहेछ
विदेशी हस्तक्षेपको छायाँ
हाम्रो आकाशमा बाक्लिंदै छ,
हामी आफ्नै घरमा पाहुना जस्तै,
हामी आफ्नै भूमिमा
निरीह भयौ।
तर अब—
यो पुस्ता
चुप लाग्ने छैन।
जेन जीको आँखा
मोबाइलको पर्दामा सीमित छैन,
त्यो आँखा अब देख्छ—
अन्याय, असमानता,
र प्रणालीको
बिरुद्धमा छ ।
हामी प्रश्न गर्छौं,
हामी सडकमा उत्रिन्छौं,
हामी शब्दलाई हतियार बनाउँछौं,
हामी चेतनालाई अब आन्दोलन बनाउँछौं।
मेरो देश जलिरहेछ
तर यो आगोमा
डर भाग्दैछ,
चुप्पी पग्लिँदैछ,
र नयाँ आवाज जन्मिँदैछ।
देशद्रोहीहरू
अब मुख लुकाउन थालेका छन्,
किनकि
जनताको नजर
पहिलाभन्दा
तेज छ,
हामी अब नाम होइन,
काम हेर्छौं,
हामी अब
भाषण होइन,
व्यवहार नाप्छौं।
सत्ता फेरिन्छ—
यो केवल अनुहारको फेरबदल होइन,
यो सोचको रूपान्तरण हो,
यो प्रणालीको पुनर्जन्म हो।
हामी नयाँ युगको सिमानामा उभिएका छौं,
जहाँ पुराना जञ्जीरहरू
एक–एक गर्दै टुटिरहेका छन्,
जहाँ स्वतन्त्रताको अर्थ
केवल शब्द होइन,
जीवनको वास्तविक
अनुभव बन्नेछ।
मेरो देश जलिरहेछ
तर यो जलनमा
नयाँ बीउ उम्रिँदैछ,
यो खरानीबाट
नयाँ सपना उठ्दैछ।
हामी विद्रोह गर्छौं—
तर घृणाबाट होइन,
चेतनाबाट;
हामी परिवर्तन चाहन्छौं—
तर विनाशबाट होइन,
न्यायपूर्ण निर्माणबाट हुनेछ ।
यो क्रान्ति
केवल सडकमा होइन,
मनभित्र पनि हुँदैछ,
हामी आफ्नो सोच बदल्दैछौं,
हामी आफ्नो जिम्मेवारी बुझ्दैछौं।
अब कसैले रोक्न सक्दैन—
यो पुस्ताको लश्कर ,
यो समयको माग,
यो परिवर्तनको आवाज हो ।
मेरो देश जलिरहेछ
तर अब यो आगो
अन्धकार जलाउन उठेको छ,
यो ज्वाला
नयाँ बिहान ल्याउन बलिरहेको छ।
र जब यो आगो शान्त हुनेछ,
त्यसको ठाउँमा रहनेछ—
न्यायको उज्यालो,
समानताको सुगन्ध,
र स्वतन्त्रताको अटुट सास।
मेरो देश जलिरहेछ
तर म डराउँदिन,
किनकि मलाई थाहा छ—
यो आगोपछि
नयाँ नेपाल जन्मिनेछ।


















