काठमाडौँ । काठमाडौँको भृकुटीमण्डपमा जारी नेपाली कांग्रेसको विशेष महाधिवेशनअन्तर्गत बन्दसत्र आज बिहान ९ बजेदेखि पुनः सुरु हुने भएको छ।
पुस २७ र २८ गतेका लागि तय गरिएको दोस्रो विशेष महाधिवेशन समय अभावका कारण कार्यतालिका संशोधन गर्दै लम्ब्याइएको हो। सोमबार सुरु भएको बन्दसत्रमा विभिन्न प्रतिवेदनमाथिको छलफल लामो भएपछि कार्यक्रम परिमार्जन गरिएको विशेष महाधिवेशन व्यवस्थापन सचिवालयका संयोजक मनोजमणि आचार्यले जानकारी दिए।
उनका अनुसार आज पनि महाधिवेशन प्रतिनिधिहरूको दर्ता प्रक्रिया जारी रहनेछ। विशेष महाधिवेशन पक्षधर नेताहरूले महाधिवेशनमा सहभागी भई हस्ताक्षर गर्ने प्रतिनिधिको संख्या ७० प्रतिशत पुर्याउने दाबी गरेका छन्।
विशेष महाधिवेशनका पक्षमा हस्ताक्षर गर्ने प्रतिनिधिको संख्या आइतबार २ हजार ६ सय ६२ पुगेको र सोमबारसम्म ६.२४ प्रतिशतले वृद्धि भएको नेता सुवास पोखरेलले बताए। उनले मंगलबारदेखि नेतृत्व चयनका लागि बन्दसत्र सुरु हुने जानकारी दिँदै निर्वाचन, अनुशासन तथा केन्द्रीय समिति लगायतका समितिहरू भंग गरिने बताए।
यसैबीच संस्थापन पक्षलाई सहमतिमा ल्याउने प्रयास पनि जारी रहेको छ। सभापति शेरबहादुर देउवा र विशेष महाधिवेशन आयोजना गरिरहेका नेताहरूबीच आज पुनः छलफल हुने बताइएको छ। वार्तामा गगन–विश्व समूहबाट प्रदीप पौडेल, देवराज चालिसे, गुरुराज घिमिरे र मधु आचार्य सहभागी हुने जनाइएको छ।


















