हल्दिबारी — काफ्ले बन्धु समाज नेपाल हल्दिबारीको साधारण सभा तथा तेस्रो अधिवेशनले धर्मप्रसाद काफ्ले (बाबा)को अध्यक्षतामा ११ सदस्यीय गाउँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ।
समाजका केन्द्रीय सचिव तथा झापा जिल्ला अध्यक्ष गोपाल काफ्लेको प्रमुख आतिथ्यमा शनिबार सम्पन्न अधिवेशनमा उनले भदौ १४ गते तीन बन्धु संस्थाबीच कार्यगत एकता गरी आगामी कार्यक्रमहरू काफ्ले बन्धु समाज नेपालको ब्यानरमा सञ्चालन गर्ने निर्णय स्मरण गराए। झापाबाट सुरु गरिएको काफ्ले जनगणनाको प्रभाव देशभर परेको उल्लेख गर्दै उनले केन्द्रीय समितिले देशव्यापी जनगणना तथा घरधुरी सर्वेक्षण गरी वंशावलीको दोस्रो संस्करण प्रकाशन गर्ने तयारी गरिरहेको जानकारी दिए।
अध्यक्ष हेमराज काफ्लेको अध्यक्षतामा आयोजित कार्यक्रममा उनले दुई वर्षको सांगठनिक प्रगति, नियमित मासिक बचत, ब्याज आम्दानी तथा खर्च विवरण प्रस्तुत गरे। उनका अनुसार हल्दिबारी गाउँपालिका भित्र ३१ घरधुरी काफ्ले बन्धुको बसोबास रहेकामा २८ परिवार नियमित रूपमा सामाजिक तथा आर्थिक गतिविधिमा आबद्ध छन्। मासिक बचत र आन्तरिक ऋण–सापटी प्रणालीमार्फत हाल समितिको कोषमा ३ लाख ११ हजार रुपैयाँ संकलन भएको उनले बताए।
नवगठित कार्यसमितिको उपाध्यक्षमा देवी भट्टराई काफ्ले, सचिवमा अश्विन काफ्ले, सहसचिवमा गोमा काफ्ले र कोषाध्यक्षमा भोजराज काफ्ले चयन भएका छन्। सदस्यहरूमा भीमप्रसाद काफ्ले, रञ्जना पौडेल काफ्ले, मुना काफ्ले तथा मणि, अनिता र भूमि काफ्ले रहेका छन्।
कार्यक्रममा गाउँपालिकाभित्रका ६ जना ज्येष्ठ आमा तथा एकल महिलालाई दोसल्ला ओढाएर फलफूलसहित सम्मान गरिएको थियो। कार्यक्रममा आध्यात्मिक व्यक्तित्व परमेश्वर काफ्लेले धर्मशास्त्रको भावार्थ प्रस्तुत गरेका थिए।


















