किम जोंग उन ले आफ्नी छोरी किम जु ए लाई औपचारिक रूपमा आफ्नो उत्तराधिकारीका रूपमा अघि सारेको दक्षिण कोरियाली गुप्तचर निकायले जनाएको छ।
दक्षिण कोरियाको राष्ट्रिय गुप्तचर सेवा (एनआईएस) ले संसद् सदस्यहरूलाई दिएको जानकारीअनुसार किम जु एलाई भावी नेताका रूपमा चयन गरिएको हो। यद्यपि उनको उमेरलगायत धेरै विवरण अझै स्पष्ट छैनन्। विश्लेषकहरूका अनुसार उनी करिब १३ वर्षकी रहेको अनुमान छ।
सन् २०२५ को सेप्टेम्बरमा चीन भ्रमणका क्रममा किम जोंग उन आफ्नो बख्तरबन्द रेलबाट ओर्लिँदा उनको पछाडि सुसज्जित पोशाकमा देखिएकी एक किशोरीले अन्तर्राष्ट्रिय ध्यान खिचेकी थिइन्। ती किशोरी नै किम जु ए भएको पुष्टि पछि भयो।
सीमित सार्वजनिक जानकारी
किम जोंग उन र उनकी पत्नी री सोल-जुको सन्तानसम्बन्धी विवरण लामो समयसम्म गोप्य राखिएको थियो। किम जु ए नै आधिकारिक रूपमा सार्वजनिक गरिएकी एकमात्र सन्तान हुन्। अन्य सन्तानबारे औपचारिक पुष्टि गरिएको छैन।
किम जु एबारे पहिलो पटक सन् २०१३ मा अमेरिकी पूर्व बास्केटबल खेलाडी Dennis Rodman ले बेलायती पत्रिका The Guardian सँगको कुराकानीमा उल्लेख गरेका थिए। उनले उत्तर कोरिया भ्रमणका क्रममा “उनकी छोरी जु एलाई काखमा लिएको” बताएका थिए।
‘सम्मानित’ उपाधि र सार्वजनिक उपस्थिति
नोभेम्बर २०२२ मा अन्तरमहादेशीय ब्यालिस्टिक क्षेप्यास्त्र परीक्षणका क्रममा किम जु ए पहिलो पटक आफ्ना पितासँग सार्वजनिक रूपमा देखिएकी थिइन्। त्यसयता उनी विभिन्न सैन्य परेड, सरकारी भोज तथा औपचारिक कार्यक्रममा सहभागी हुँदै आएकी छन्।
राज्य सञ्चारमाध्यमले उनलाई ‘सम्मानित छोरी’ भनेर सम्बोधन गरेको छ। ‘सम्मानित’ शब्द उत्तर कोरियामा उच्च प्रतिष्ठा र नेतृत्वसँग सम्बन्धित व्यक्तिका लागि प्रयोग गरिन्छ। स्वयं किम जोंग उनलाई पनि भावी नेताका रूपमा स्थापित गरिँदा ‘सम्मानित कामरेड’ भनिएको थियो।
सम्भावित उत्तराधिकार
जनवरी २०२४ मा दक्षिण कोरियाली गुप्तचर निकायले किम जु एलाई “सबैभन्दा सम्भावित उत्तराधिकारी” भनेको थियो। यद्यपि किम जोंग उन अझै अपेक्षाकृत कम उमेरका भएकाले उत्तराधिकार प्रक्रिया तत्काल लागू हुने सम्भावना कम रहेको विश्लेषण गरिएको छ।
सन् २०२५ मा उनी पहिलो पटक उत्तर कोरियाबाहिर चीन भ्रमणमा देखिएकी थिइन्। त्यसयता उनी उच्च सैनिक कमान्डरहरूबाट सलामी ग्रहण गर्दै केन्द्रमा उभिएको दृश्यले भावी नेतृत्वको संकेत दिएको विश्लेषकहरू बताउँछन्।
पितृसत्तात्मक संरचनामा परिवर्तनको संकेत?
सन् १९४८ देखि शासन गर्दै आएको किम परिवारले आफूलाई ‘पवित्र वंश’को रूपमा प्रस्तुत गर्दै आएको छ। नेतृत्व परिवारभित्रै सीमित रहने परम्परा रहँदै आएको छ।
विश्लेषकहरूका अनुसार किम जु एलाई अगाडि सार्नु गहिरो पितृसत्तात्मक संरचना रहेको देशमा लैङ्गिक धारणा परिवर्तन गर्ने प्रयास पनि हुन सक्छ। उत्तर कोरियामा अहिलेसम्म कुनै महिलाले राष्ट्र नेतृत्व गरेको इतिहास छैन।
यस घटनाक्रमले उत्तर कोरियाको भावी राजनीतिक दिशा र शक्ति हस्तान्तरण प्रक्रियाबारे अन्तर्राष्ट्रिय चासो बढाएको छ।
bbc हिन्दीबाट


















