भारत — नेपालका फिल्म निर्माता तथा निर्देशक किरण खतिवडा लाई भारतको दार्जिलिङमा आयोजित ९ औँ अन्तर्राष्ट्रिय सन्थाल सम्मेलन २०२६ को अवसरमा प्रतिष्ठित “साधु रामचन्द मुर्मु – पं. रघुनाथ मुर्मु अवार्ड” प्रदान गरिएको छ ।
उक्त सम्मेलन अन्तर्राष्ट्रिय सन्थाल परिषद्, नयाँ दिल्लीको सहकार्यमा आयोजना गरिएको थियो, जहाँ विभिन्न देशबाट विद्वान, कलाकार तथा सांस्कृतिक प्रतिनिधिहरू सहभागी भएका थिए। सम्मेलनको उद्देश्य सन्थाली भाषा, संस्कृति र आदिवासी पहिचानको संरक्षण तथा प्रवर्द्धन गर्नु हो ।
कार्यक्रमको प्रारम्भिक तालिका अनुसार उक्त सम्मान भारतकी राष्ट्रपति द्रौपदी मुर्मु को हातबाट उद्घाटन सत्रमा प्रदान गरिने तय गरिएको थियो। तर प्राविधिक कारणले सो सत्रमा पुरस्कार वितरण हुन नसकेपछि पछि आयोजित विशेष सत्रमा भारतीय राजस्व लेखा सेवा (IRAS) का पूर्व अधिकारी उदयनाथ माझी ले किरण खतिवडालाई सम्मान प्रदान गर्नुभयो।किरण खतिवडा ले सन्ताली समुदायका सदस्य नभए पनि नेपालको पहिलो सन्ताली फीचर फिल्म “बोनोडाल (Change)” निर्माण तथा निर्देशन गरेर सन्थाली संस्कृति, पहिचान र आदिवासी कथालाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउन महत्वपूर्ण योगदान दिनुभएकाले यो अवार्ड प्रदान गरिएको हो ।

सन् २०१६ मा छायांकन गरिएको फिल्म बोनोडाल (Change) ले विभिन्न मञ्च र फिल्म समारोहहरूमा प्रशंसा प्राप्त गरिसकेको छ। हाल फिल्मको निर्माण टोली यसको विश्वव्यापी प्रदर्शन को तयारीमा व्यस्त रहेको छ, जसलाई मुम्बईबाट व्यवस्थापन गर्दै विश्वभरका सिनेमा हल तथा स्ट्रिमिङ प्लेटफर्ममार्फत प्रदर्शन गर्ने योजना बनाइएको छ ।
किरणको यो उपलब्धिले नेपालबाट आदिवासी कथा र संस्कृतिलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउने प्रयासलाई थप बल प्रदान गरेको छ।


















