काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले संविधानको संरक्षण गर्दै जनताका अधिकारलाई जीवित राख्नुपर्नेमा जोड दिएका छन्। राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीप्रति शुभकामना व्यक्त गर्दै उनले प्रजातन्त्र स्थापनाका लागि भएका त्याग, बलिदान र संघर्षको सम्मान गर्दै वर्तमान पुस्ताले त्यसको मर्म आत्मसात् गर्नुपर्ने बताएका छन्।
ओलीले जारी गरेको शुभकामना सन्देशमा राष्ट्रिय स्वाधीनताको रक्षा, राष्ट्रको गरिमा संरक्षण तथा क्षतविक्षत अवस्थामा पुगेका राष्ट्रिय धरोहरहरूको संरक्षण आजको प्रमुख दायित्व भएको उल्लेख गरेका छन्। उनले संविधान कार्यान्वयनमार्फत नागरिकका मौलिक हक, स्वतन्त्रता र अधिकारलाई व्यवहारमा सुनिश्चित गर्न सबै राजनीतिक दल तथा सरोकारवाला पक्ष एकजुट हुनुपर्ने धारणा राखेका छन्।
उनले प्रजातन्त्र दिवस जनताको साहस, त्याग र बलिदानले जहानियाँ राणा शासनको अन्त्य गरी स्वतन्त्रता र अधिकारको बिहानी उदाएको ऐतिहासिक दिन भएको उल्लेख गरेका छन्। “आज प्रजातन्त्र दिवस, जनताको साहस, त्याग र बलिदानले जहानियाँ राणा शासनको अन्त्य गरी स्वतन्त्रता र अधिकारको बिहानी उदाएको ऐतिहासिक दिन हो,” सन्देशमा भनिएको छ।
प्रजातन्त्रका लागि आफ्नो जीवन अर्पण गर्ने अमर सहिदहरू — शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमा र गङ्गालाल श्रेष्ठप्रति उनले हार्दिक श्रद्धाञ्जली अर्पण गरेका छन्।
ओलीले लोकतान्त्रिक मूल्य–मान्यता सुदृढ गर्दै समृद्ध र आत्मनिर्भर राष्ट्र निर्माणका लागि सबै नेपाली एकताबद्ध हुनुपर्ने आवश्यकता औँल्याएका छन्। उनले विगतका उपलब्धिलाई संस्थागत गर्दै आगामी पुस्तालाई स्थिर, समुन्नत र सम्मानित राष्ट्र हस्तान्तरण गर्नु आजको ऐतिहासिक जिम्मेवारी भएको उल्लेख गरेका छन्। फाइल तस्वीर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार