कोशीमा पत्रकार आन्दोलित, जरिवाना प्रावधानविरुद्ध धर्ना

कोशी प्रदेश सरकारले ल्याउन लागेको “प्रदेश आमसञ्चार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक” मा पत्रकारलाई एक लाख रुपैयाँसम्म जरिवाना गर्ने प्रावधान राखिएको भन्दै विराटनगरका पत्रकार आन्दोलित भएका छन्।

शुक्रबार प्रदेशसभा परिषरमै पत्रकारहरूले धर्ना बसेपछि केही बेर प्रहरीसँग धक्का-मुक्कासमेत भएको छ। उनीहरूले यो विधेयक अभिव्यक्ति स्वतन्त्रतामाथि प्रत्यक्ष प्रहार भएको आरोप लगाएका छन्।
नेपाल पत्रकार महासङ्घ कोशी प्रदेश अध्यक्ष भरत खड्काले विधेयकका प्रावधानप्रति असहमति जनाउँदै तुरुन्त सच्याउन माग गरे। “यदि आवश्यक संशोधन नगरे आन्दोलनलाई निरन्तरता दिन्छौं,” उनले चेतावनी दिए।
त्यस्तै, संसदीय पत्रकार मञ्च कोशीका अध्यक्ष कुमार लुईटेलले सरकार सरोकारवालाको सुझाव बेवास्ता गरेर विधेयक संसदमा पेस गरेको भन्दै आपत्ति जनाए। “पत्रकारलाई जरिवाना गर्ने प्रावधान विगतदेखि नै अस्वीकार्य रहेको सुझाव दिँदै आएका थियौं,” उनले भने।
यसैबीच, नेपाल पत्रकार महासङ्घ कोशी प्रदेश शाखा, नेपाल पत्रकार महासङ्घ केन्द्रीय समिति तथा पत्रकारसँग सम्बन्धित अन्य संघ–संस्थाले संयुक्त विज्ञप्ति जारी गर्दै जरिवाना सम्बन्धी विवादास्पद प्रावधान हटाउन माग गरेका छन्।
पत्रकारहरूले चेतावनी दिएका छन्– आवश्यक संशोधन नगरे प्रदेशव्यापी आन्दोलन हुनेछ।