इटहरी । कोशी प्रदेशको पर्यटनलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्ने लक्ष्यसहित छैठौं इस्टर्न ट्राभल मार्ट २०२६ शनिबारदेखि इटहरीमा सुरु भएको छ। नेपाल पर्यटन बोर्ड र इटहरी उपमहानगरपालिकाको सहकार्यमा आयोजित यो तीन दिने कार्यक्रमले पूर्वी नेपालको प्राकृतिक, सांस्कृतिक र धार्मिक सम्पदालाई विश्व बजारमा चिनाउने अवसर प्रदान गर्नेछ।
उद्घाटन गर्दै कोशी प्रदेशका पर्यटन, वन तथा वातावरणमन्त्री भिम पराजुलीले कोशी प्रदेश नेपालको पर्यटनको ‘गेटवे’ बन्ने क्षमता राख्ने बताए। उनले जैविक विविधता, सिमसार क्षेत्र र वन्यजन्तु पर्यटनका दृष्टिले यो प्रदेश अत्यन्तै सम्पन्न रहेको उल्लेख गर्दै, “संसारकै सबैभन्दा अग्लो हिमाल सगरमाथादेखि समुद्र सतहभन्दा तलको कचनकवलसम्म यही प्रदेशमा पर्दछन्। हामी अन्तर्राष्ट्रिय स्तरमा कोशी प्रदेशको पर्यटन विकासमा योजनाबद्ध रूपमा काम गरिरहेका छौं,” भने।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मुकुन्द प्रसाद निरौलाले मार्ट पूर्वी नेपालको पर्यटन प्रवर्द्धनको लागि प्रभावकारी मञ्च बन्ने विश्वास व्यक्त गरे। उनले भने, “पूर्वी नेपालको पर्यटन अब सम्भावनामा मात्र छैन, कार्यान्वयनको चरणमा प्रवेश गरेको छ। सेवा गुणस्तर र पर्यटकको अनुभव सुधार गर्न सके नेपाल विश्व बजारमा प्रतिस्पर्धी बन्न सक्छ।”
नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दिपकराज जोशीले पूर्वी नेपाललाई साहसिक, सांस्कृतिक र प्राकृतिक पर्यटनको महत्वपूर्ण केन्द्रको रूपमा प्रस्तुत गर्दै, “इस्टर्न ट्राभल मार्ट केवल कार्यक्रम होइन, दीर्घकालीन सहकार्य र साझेदारी निर्माण गर्ने प्लेटफर्म हो,” भने।
नेपाल एसोसिएसज अफ टुर एण्ड ट्राभल्स (नाटा) कोशी प्रदेशका अध्यक्ष पूण्य प्रसाद भट्टराईले मार्टको उद्देश्य सीमा क्षेत्रका पर्यटन व्यवसायीहरूलाई एउटै प्लेटफर्ममा ल्याई व्यापार विस्तार गर्नु रहेको बताए। कार्यक्रममा बीटुबी बैठक, प्यानल छलफल र गन्तव्य अवलोकन कार्यक्रम पनि समावेश गरिएको छ।
कार्यक्रममा नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक हिक्मत सिंह ऐरलाई पर्यटन क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याएको भन्दै सम्मान गरिएको थियो। मार्टमा भारत र भुटानबाट १०० भन्दा बढी अन्तर्राष्ट्रिय पर्यटन व्यवसायी र नेपालका विभिन्न प्रदेशबाट ५० भन्दा बढी व्यवसायी सहभागी भएका छन्। यो तीन दिने मार्ट आगामी चैत १६ गतेसम्म सञ्चालन हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार