काठमाडौँ । विश्व राजनीतिमा इरान, अमेरिका र इजरायलबीचको बढ्दो सैन्य तनावका कारण इन्धन र खाना पकाउने ग्याँसको अभाव विश्वव्यापी समस्याका रूपमा देखा पर्न थालेको छ। यसै अभावको एउटा दुखद र अनौठो प्रभाव छिमेकी मुलुक भारतको उत्तर प्रदेशमा देखिएको छ, जहाँ घरमा ग्याँस नभएकै कारण उत्पन्न विवादपछि एक महिला आफ्ना पाँच महिने शिशुसहित बेपत्ता भएकी छन्। उत्तर प्रदेशको बाराबंकी जिल्लास्थित बौधनी मजरे खटौली गाउँमा यो घटना सार्वजनिक भएको हो।
स्थानीय अनिल कुमार र उनकी पत्नी सुमन देवीबीच खाना पकाउने विषयलाई लिएर विवाद भएको थियो। अनिल एउटा कम्पनीमा कार्यरत छन् र उनीहरूको विवाह भएको करिब दुई वर्ष पुगेको छ। केही दिनअघि घरमा खाना पकाउने ग्याँस सकिएका कारण सुमनले खाना पकाउन सकेकी थिइनन्। रात्रिकालीन ड्युटी सकेर बिहान घर फर्किएका अनिलले खाना नपाकेको देखेपछि पत्नीसँग सोधखोज गरेका थिए। सुमनले ग्याँस अभावका कारण खाना बनाउन नसकिएको बताएपछि अनिलले “भोकै बस्नुभन्दा दाउरा बालेर भए पनि खाना पकाउनुपर्ने” तर्क गरेका थिए।
सोही विषयलाई लिएर दम्पतीबीच भनाभन र विवाद बढेको थियो। विवादपछि अनिल आफ्नो कोठामा सुत्न गएका थिए। अपराह्न करिब ४ बजे ब्युँझिँदा उनले घरमा पत्नी र छोरालाई देखेनन्। छरछिमेक र आफन्तहरूकहाँ व्यापक सोधखोज गर्दा पनि उनीहरूको कुनै पत्तो लाग्न सकेन। पत्नी र सन्तान फेला नपरेपछि अनिलले स्थानीय प्रहरी कार्यालयमा खोजतलासका लागि निवेदन दिएका छन्। प्रहरीले अनिलको उजुरीका आधारमा बेपत्ता महिला र शिशुको खोजी कार्य तीव्रताका साथ अगाडि बढाइएको जनाएको छ।


















