बिर्तामोड, चैत ३ । दिगो पर्यटन, स्वस्थ जीवनशैली र सामुदायिक गौरवको अभियानको रूपमा आयोजना गरिएको ‘घुमौँ झापा साइकलमा’ कार्यक्रम सफलतापूर्वक समापन भएको छ।

झापा साइक्लिङ क्लबले आयोजना गरेको तीन दिने यो कार्यक्रम १८५ किलोमिटर साइकल यात्रा पछि सम्पन्न भएको हो। कार्यक्रम फागुन ३०, चैत १ र २ गते आयोजना गरिएको थियो।

क्लबका अध्यक्ष आकाश श्रेष्ठ का अनुसार, राइडरहरूले झापाका १२ वटा पालिका यात्रा गरेका थिए। सचिव हिमाल खरेल का अनुसार सहभागीहरूले मेचीनगर, बुद्धशान्ति, अर्जुनधारा, कनकाई, शिवसताक्षी, गौरीगञ्ज, झापा, बाह्रदशी, कचनकवल, भद्रपुर, हल्दिबरी र बिर्तामोड नगरपालिकामा साइकलमा फन्को लगाएका थिए।
यात्राको पहिलो दिन ६० किलोमिटर थियो, दोस्रो दिन ८० किलोमिटर र तेस्रो तथा अन्तिम दिन ४५ किलोमिटर साइकल यात्रा गरिएको थियो।

कार्यक्रममा ५० जना साइकलयात्री साथै गाइड, मेकानिक र स्वयंसेवक सहभागी थिए। सचिव खरेलका अनुसार कार्यक्रमको उद्देश्य झापालाई साइकल पर्यटन गन्तव्यका रूपमा प्रवर्द्धन गर्नु, पूर्वी नेपालमा दिगो तथा शून्य–फोहोर पर्यटन प्रवर्धन गर्नु र स्वास्थ्यकर जीवनशैलीलाई प्रोत्साहन गर्नु हो।

धार्मिक स्थल, सिमसार क्षेत्र र ग्रामीण भूभागलाई जोड्दै झापालाई साइकलमैत्री गन्तव्यको रूपमा चिनाउन यो कार्यक्रम गरिएको थियो।

समापन कार्यक्रममा सहभागी राइडरहरूलाई मेडल प्रदान गरिएको थियो। अध्यक्ष आकाश श्रेष्ठ, प्रमुख अतिथि र सहभागी राइडर पर्यटन कार्यालय काँकरभिट्टा का अधिकृत निरोज कट्टेल तथा नाट्टा कोशी का महासचिव नविन खरेल ले मेडल वितरण गरेका थिए।

कार्यक्रमले झापाको प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा र उदीयमान पर्यटन मार्गहरूलाई उजागर गर्दै साइकललाई वातावरणमैत्री र समावेशी पर्यटन माध्यमको रूपमा स्थापित गर्ने प्रयास गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार