हल्दिबारी फिचर डेक्स- बिराटनगर। आउँदो जनगणनामा लिम्बु समुदायले लेखाउने धर्मको बारेमा चलिरहेको बहसलाई संयमित गर्न र जाति र भाषामा एकरुपता कायम गर्न किरात याक्थुङ चुम्लुङले संयोजनकारी भूमिका खेल्न आव्हान गरिएको छ ।
बेलायत स्थित लिम्बुवान नागरिक समाजको शनिवार भएको आठौं साधारण सभाले उक्त आव्हान गरेको हो । लिम्बु समुदायमा धर्मको बहसले उग्ररूप लिइरहेमा ध्यानाकर्षण भएकोमा त्यस्मा संलग्नहरु लाई संयमित हुन पनि समाजले आग्रह गरेको छ । युके बाट प्राप्त समाचार अनुसार समाजले किरात याक्थुङ चुम्लुङ लाई समन्वयकारी भूमिका खेल्न विशेष आह्वान समेत गरेको हो । साधारणसभाबाट धर्मको बहसले लिम्बुवान आन्दोलनलाई असर पु¥याउन नहुने कुरामा ध्यानाकर्षण गराउँदै समुदायमा देखा परेको द्विविधालाई हल गर्न चुम्लुङलाई संयोजनकारी भूमिका खेल्न अनुरोध गरिएको अध्यक्ष छत्र वनेमले बताए ।
उनले भने ‘पछिल्लो समय लिम्बु समुदायमा भइरहेको बहसले सबैलाई प्रभाव पारेको छ । लिम्बुवानमा रहेको महत्वपूर्ण जाति भएकोले आन्तरिक बहसमा हाम्रो पनि चासो रहेको छ ।’ उनका अनुसार यसकारण पनि बहसमा संलग्नहरु लाई संयमित रुपमा प्रस्तुत हुन आग्रह गरिएको हो । धर्म निजी स्वतन्त्रताको विषय भएको तर जाति र भाषामा भने एकरूपता कायम गरेर अघि बढ्न समाजले सबै पक्षलाई अुनरोध गरेको छ । भर्चुअल माध्यमबाट भएको साधारणसभाले लिम्बुवान नागरिक बहस लाई निरन्तरता दिने निर्णय गरेको छ । लिम्बुवान क्षेत्रका विविध विषयहरू उपर प्राज्ञिक बहस गराउने गरी सन् २०१९ देखि श्रङ्खलाको सुरुवात भएको थियो ।
हालसम्म तीन श्रङ्खलाहरू सम्पन्न भइसकेका छन् । साधारण सभाले लिम्बुवान आन्दोलनलाई सहयोग पु¥याउन नेपालमा आफ्नो समितिलाई समेत विस्तार गरेर कार्यक्रम अघि बढाउने निर्णय गरेको छ । हासचिव लाहाङ चेम्जोङका अनुसार कोभिड महामारीले विगतका निर्णयहरूको कार्यान्वयनमा असर पुगेकोले आउँदो वर्षमा सबै निर्णयहरू लागू गरिने प्रतिबद्धता व्यक्त गरे । समाजले सातौँ साधारणसभाबाट दश लाख रूपैयाँको काङ्सोरे पुरस्कार अक्षयकोष स्थापना गर्ने समेत निर्णय गरेकोमा त्यस्को कार्यान्वयन लाई प्राथमिकता दिने निर्णय गरिएको छ । लिम्बुवान आन्दोलनमा जीवनभर सङ्घर्ष गरेका एक व्यक्तिलाई प्रत्येक कार्यकालको अवधिमा एक लाख रूपैयाँ राशीको काङ्सोरे पुरस्कार प्रदान गरिने महासचिव चेम्जोङले बताए । मिडिया सचिव अमित थेवेको सम्पादनमा सङ्कलन भइरहेको लिम्बुवानी कविता सङ्ग्रहलाई पनि यथाशीघ्र प्रकाशन गर्ने निर्णय सभाले निर्णय गरेको छ ।
सभाले महासचिव चेम्जोङको साङ्गठनिक प्रतिवेदनलाई पारित गरेको थियो । कोषाध्यक्ष विकास हेल्लोकले प्रस्तुत गरेको आर्थिक प्रतिवेदनलाई पनि पारित गरेको छ । कोभिड महामारीका कारण कोष वृद्धि गर्न आयोजना गर्ने भनिएको च्यारिटी डिनर कार्यक्रम प्रभावित भएको हेल्लोकले बताए । साधारणसभामा लिम्बुवान समाज यूकेका अध्यक्ष दिलसिङ मेन्याङ्वो, सङ्घीय लिम्बुवान सामाजिक मञ्च यूकेका अध्यक्ष टङ्क खापुङ, लेखक विजय लुम्फुङ्वा, फागो चोङवाङ लिम्बु परिवार यूकेका भरत फागो चोङवाङ, लिम्बुवान नागरिक समाजका नेपाल संयोजक निलिफा सुब्बा, सल्लाहकारहरू नरेन्द्र माबोहाङ, राजेन्द्र खिम्दिङ, निर्मल पतङ्वा, दिल पालुङ्वा लगायतले सम्बोधन गरेका थिए ।
सभाको सञ्चालन मिडिया सचिव अमित थेवेले गरेका थिए । यूकेमा बसोबासमा गरिरहेका लिम्बुवान आन्दोलन समर्थकहरूको भेलाले सन् २००९ सेप्टेम्बरमा स्व. प्रसाद थेवेको अध्यक्षतामा लिम्बुवान नागरिक समाज यूके(तत्कालीन लिम्बुवान स्वायत्त नागरिक एकता समाज यूके गठन गरेको थियो । समाजले पटकपटक विभिन्न अवसरमा पूर्वमा ऐतिहासिक शाषकीय पृष्ठभूमिका आधारमा लिम्बुवान प्रदेश कायम हुनुपर्ने माग गर्दै आएको छ ।-देवेन्द्र आलोक

















