केर्खा, झापा । झापाको कमल गाउँपालिका वडा नम्बर ३, केर्खामा एक नवजात शिशु (बालिका) बेवारिसे अवस्थामा फेला परेकी छिन्। सोमबार बिहान करिब ६:१० बजे स्थानीय लिलाराज थापाको घर नजिकै रहेको मकैबारीभित्र ती शिशु फेला परेकी हुन्। आफ्नो घरको करेसाबारीमा रहेको मकैघारीमा शिशु रोएको आवाज सुनेपछि ४८ वर्षीय थापाले खोजी गर्दा भर्खरै जन्मिएकी बालिकालाई बेवारिसे अवस्थामा फेला पारेका थिए।
घटनाको जानकारी पाएलगत्तै प्रहरी चौकी केर्खाबाट खटिएको प्रहरी टोलीले स्थानीय बासिन्दाको सक्रिय सहयोगमा ती नाबालिकाको तत्काल उद्धार गरेको थियो। उद्धारपश्चात् शिशुको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै उनलाई तत्काल उपचारका लागि दमकस्थित किओच बाल अस्पताल (KIOCH) पठाइएको छ। अस्पताल स्रोतका अनुसार ती नवजात शिशुको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको छ।
अज्ञात व्यक्तिले रातको समयमा शिशुलाई जन्म दिई मकैबारीमा छाडेर फरार भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ। झापा प्रहरीले घटनालाई गम्भीरताका साथ लिँदै ती बालिकाकी आमाको पहिचान गर्ने कार्य र थप खोजतलास प्रक्रियालाई तीव्रता दिएको जनाएको छ।


















