दमक, झापा । झापाको कमल गाउँपालिका-५ स्थित सितापुरी चोकमा गुडिरहेको स्कारपियोका चालकको अचानक बेहोस भई मृत्यु भएको छ। मोरङको शनिश्चरे नगरपालिका-९ बस्ने ४५ वर्षीय योगेश धिमालको उपचारका क्रममा दमकस्थित निम्स अस्पतालमा बिहीबार राति मृत्यु भएको हो।
बिहीबार साँझ साढे ६ बजेतिर बिर्तामोडबाट पथरीतर्फ जाँदै गरेको प्रदेश १-०४-००१ च ००८० नम्बरको स्कारपियो चलाउने क्रममा धिमालले अचानक शारीरिक असहजता महसुस गरेका थिए। उनले तत्कालै गाडीलाई पूर्व-पश्चिम राजमार्गको सडक किनारमा रोकेका थिए। गाडी रोकेलगत्तै उनी सिटमै बेहोस भएको अवस्थामा गाडीमा सवार यात्रुहरूले देखेपछि स्थानीयको सहयोगमा तत्काल उपचारका लागि अस्पताल पुर्याइएको थियो।
उपचारकै क्रममा राति ८ बजे चिकित्सकले उनलाई मृत घोषित गरेका थिए। घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले आवश्यक कानुनी प्रक्रिया र प्रारम्भिक अनुसन्धान पूरा गरेको छ। मृतकको शवलाई पोस्टमार्टमका लागि राति सवा १० बजे मोरङको उर्लाबारीस्थित मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर पठाइएको प्रहरीले जनाएको छ। घटनाको प्रकृति हेर्दा हृदयघात वा अन्य आकस्मिक स्वास्थ्य समस्याका कारण मृत्यु भएको हुन सक्ने अनुमान गरिए पनि विस्तृत विवरण पोस्टमार्टम रिपोर्टपछि खुल्ने बताइएको छ।


















