झापा । झापाको बाह्रदशी गाउँपालिका–२ मा निर्माणाधीन आधारभूत अस्पतालको काम अन्तिम चरणमा पुगेको छ। गाउँपालिकाले आगामी असारदेखि अस्पताल सञ्चालनमा ल्याउने तयारी गरेको जनाएको छ।
वडा नं २ का अध्यक्ष तथा अस्पताल व्यवस्थापन समितिका संयोजक भीमबहादुर कार्कीका अनुसार राजवंशी चोकदेखि करिब ५०० मिटर पश्चिममा निर्माण भइरहेको १५ शय्याको अस्पताल लामो समयदेखि अधुरो अवस्थामा थियो। चार वर्ष बितिसक्दा पनि निर्माण सम्पन्न नहुँदा स्थानीय बासिन्दामा अस्पताल बन्छ कि बन्दैन भन्ने आशंका थियो। तर पछिल्लो समय गाउँपालिकाको सक्रियतापछि निर्माण कार्यले गति लिएको उहाँले बताउनुभयो।
अस्पताल सञ्चालनका लागि आवश्यक चिकित्सकसहित ४० जना कर्मचारीको माग गर्दै प्रदेश सरकारलाई पत्राचार गरिसकिएको कार्कीको भनाइ छ। अस्पताल सञ्चालनमा आएपछि सामान्य र मध्यम प्रकृतिका रोगको उपचारका लागि बिर्तामोड वा भद्रपुर जानुपर्ने बाध्यता हट्ने अपेक्षा गरिएको छ। जटिल रोगबाहेकका उपचार सेवा स्थानीय तहमै उपलब्ध हुने उहाँले बताउनुभयो।
हाल बाह्रदशी गाउँपालिकाले भाडाको भवनमा सीमित स्वास्थ्य सेवा प्रदान गरिरहेको छ। नयाँ सुविधा सम्पन्न भवनमा विशेषज्ञ चिकित्सकसहित सेवा सुरु भएपछि स्थानीय नागरिकलाई उल्लेख्य राहत पुग्ने विश्वास स्थानीय जनप्रतिनिधिको छ।
उद्योग वाणिज्य सङ्घ बाह्रदशीका अध्यक्ष खगेन्द्रबहादुर कार्कीले केन्द्रीय सरकारको अनुदानमा निर्माण भइरहेको अस्पतालले गाउँपालिकाको स्वास्थ्य सेवामा महत्वपूर्ण योगदान पुर्याउने बताउनुभयो। उहाँका अनुसार अस्पताल सञ्चालन र सेवा विस्तारका क्रममा उद्योग वाणिज्य सङ्घले सहकार्य र सहयोगलाई निरन्तरता दिनेछ।
यसैबीच पशुपति मावि व्यवस्थापन समितिका अध्यक्ष मोती राजवंशीले अस्पताल छिट्टै सञ्चालनमा आउनु खुशीको विषय भएको भन्दै निर्माण र सञ्चालन दुवै चरणमा सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।
अस्पताल निर्माण कम्पनीका प्रतिनिधि तथा सब–इन्जिनियर रविन्द्रकुमार यादवले करिब १३ करोड रुपैयाँको लागतमा अस्पताल निर्माण भइरहेको जानकारी दिनुभयो। केही प्राविधिक समस्याका कारण निर्माणमा ढिलाइ भएको भए पनि आगामी जेठ मसान्तसम्म अस्पताल पूर्ण रूपमा सञ्चालन हुने गरी गाउँपालिकालाई हस्तान्तरण गर्ने लक्ष्यका साथ काम भइरहेको उहाँले बताउनुभयो।
झापाको बाह्रदशीमा आधारभूत अस्पताल अन्तिम चरणमा, असारदेखि सेवा सुरु हुने तयारी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
+1
+1
+1
+1
+1

















