झापा, भद्रपुर । झापाको भद्रपुर नगरपालिकाका विभिन्न स्थानबाट प्रहरीले ठुलो परिमाणको लागुऔषध ब्राउन सुगरसहित सात जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय झापाका अनुसार प्रहरीका तीनवटा युनिटले फरक–फरक स्थानमा गरेको विशेष अपरेसनका क्रममा उनीहरूलाई नियन्त्रणमा लिइएको हो। हिजो राति भद्रपुरका दुई छुट्टाछुट्टै स्थानमा गरिएको खानतलासी र जाँचका क्रममा उनीहरू लागुऔषधसहित फेला परेका हुन्।
प्रहरीले हिजो राति ९:३० बजे भद्रपुर–६ स्थित ३१ वर्षीय श्रवण यादवको घरमा खानतलासी गर्दा ५० ग्राम ४३० मिलिग्राम ब्राउन सुगर बरामद गरेको छ। सोही स्थानबाट यादवसँगै भद्रपुर–६ कै २० वर्षीय गणेश राजवंशी र २६ वर्षीय प्रकाश राजवंशीलाई पनि प्रहरीले पक्राउ गरेको छ। उनीहरूले लागुऔषधको भण्डारण र बिक्री वितरण गरिरहेको गोप्य सूचनाका आधारमा प्रहरी टोली त्यहाँ पुगेको थियो।
यसैगरी, सोही राति १०:३० बजे भद्रपुर–५ स्थित बसपार्क क्षेत्रबाट थप चार जनालाई लागुऔषधसहित नियन्त्रणमा लिइएको छ। पक्राउ पर्नेहरूमा भद्रपुर–५ का ३० वर्षीय शुभम साह, वडा नम्बर ४ का ३० वर्षीय जयकरण कहार, वडा नम्बर ६ का ३५ वर्षीय दुलाल शेख र सोही ठाउँका २९ वर्षीय मोहम्मद अमिरबाब रहेका छन्। पक्राउ परेका दुलाल शेखको साथबाट १० ग्राम २०० मिलिग्राम ब्राउन सुगर फेला परेको प्रहरीले जनाएको छ। पक्राउ परेका सातै जनालाई जिल्ला प्रहरी कार्यालयमा राखेर लागुऔषध नियन्त्रण ऐन अन्तर्गत थप अनुसन्धान र कानुनी कारबाही अघि बढाइएको छ।

















