भद्रपुर । जिल्ला प्रहरी कार्यालय झापाको प्रमुखको जिम्मेवारी सम्हालेकी प्रहरी उपरीक्षक (एसपी) बसुन्धरा खड्काले जिल्लाको शान्ति सुव्यवस्था कायम गर्न प्रतिबद्ध भएर लाग्ने बताएकी छन्।
कार्यालय सम्हालेपछि पहिलो पटक आफ्नै कार्यकक्षमा झापाका सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै एसपी खड्काले आसन्न निर्वाचनलाई लक्षित गर्दै सम्भावित सुरक्षा चुनौती नियन्त्रणमा राख्ने गरी काम अघि बढाइने बताइन्। शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गराउनु प्रहरीको प्रमुख दायित्व रहेकाले त्यसतर्फ विशेष सतर्कता अपनाइने उनको भनाइ थियो।

बाग्मती प्रदेश प्रहरी कार्यालय, मानव स्रोत व्यवस्थापन महाशाखा हेटौडाबाट सरुवा भएर झापा आएकी खड्काले जिल्लाभर कार्यरत प्रहरी युनिटहरूको नियमित अनुगमन गरी प्रहरीको कार्यसम्पादनको समीक्षा गरिने जानकारी दिइन्। उनले प्रहरीको बर्दी दुरुपयोग गर्ने तथा खराब नियतले काम गर्ने जो–कोहीलाई कडा कारबाही गरिने स्पष्ट पारिन्।
‘चुनौतीसँग जुध्नु नै अवसर हो,’ भन्दै एसपी खड्काले झापामा शान्ति सुव्यवस्था प्रतिकूल हुने कुनै पनि गतिविधि नियन्त्रणमा लिएर सद्भाव कायम गर्ने प्रतिबद्धता जनाइन्।
