बिर्तामोड, झापा । जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त भएको झापाको बिर्तामोड–९ स्थित गरामनी क्याम्पसको पुनर्निर्माणका लागि स्थानीय निजी विद्यालयहरू अगाडि आएका छन्।
बिर्तामोड–३ का आदर्श स्कूल अफ म्यानेजमेन्ट र लिङ्कन मण्टेश्वरीको पहलमा सुरु भएको अभियानले विद्यार्थीहरूलाई सहज पठनपाठन वातावरण उपलब्ध गराउने उद्देश्य राखेको छ। आदर्श स्कूलका संस्थापक सञ्जोग खरेलले शैक्षिक संस्थामाथि आक्रमण दुःखद भए पनि अब विद्यालयले पुनः सञ्चालन सुनिश्चित गर्न पहल सुरु गरेको जानकारी दिनुभयो।
लिङ्कन मण्टेश्वरीका सञ्चालक सरोज पौडेलका अनुसार यो अभियान केवल सहयोग नभई सामुदायिक उत्तरदायित्व अन्तर्गतको पहल हो, जसमा निजी क्षेत्र एकताबद्ध भएर अघि बढिरहेको छ। यस अभियानमा न्युटन्स एजुकेसन फाउन्डेसन, गोमेन्द्र बिर्ता मोडल स्कूल र निदि स्कूलसमेत सहभागी छन्। प्रारम्भिक चरणमा आदर्श र लिङ्कनले एक लाख ५० हजारदेखि दुई लाखसम्मको शैक्षिक सामग्री उपलब्ध गराउने घोषणा गरेका छन्।
स्थानीय विद्यालयहरूको यस्तो पहलले क्षतिग्रस्त गरामनी क्याम्पस छिट्टै पुनः व्यवस्थित हुन मद्दत पुग्ने अपेक्षा गरिएको छ। यसले समुदायमा शिक्षा प्रति एकता र उत्तरदायित्वको उदाहरण प्रस्तुत गरेको छ।

















