हल्दिबारी डटकम
Hover Ad Article
राजनीति
हल्दिबारी संवाददाता १० महिना अगाडि

झापामा जेन–जी आन्दोलनपछि पार्टी कार्यालयमा आगजनी, सिटौलाले दलहरूमा एकता र सहकार्यको आग्रह

झापा, २४ भदौ । जेन–जी आन्दोलनको क्रममा झापामा भएको हिंसा र आगजनीका घटनापछि नेपाली काँग्रेस र नेकपा एमालेका पार्टी कार्यालयहरूमा ठूलो क्षति पुगेको छ। घटनापछि नेपाली काँग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले देशको वर्तमान राजनीतिक परिस्थितिमा दलहरूभित्र अटुट एकता कायम गर्दै लोकतन्त्रवादी दलहरूबीच सहकार्य आवश्यक रहेको बताएका छन्।

Advertisement

गत भदौ २४ गते भएको जेन–जी आन्दोलनका क्रममा आन्दोलनकारीहरूले नेपाली काँग्रेस र नेकपा एमालेका झापा जिल्ला कार्यालयमा तोडफोड र आगजनी गरेका थिए। नेपाली काँग्रेस झापा जिल्ला कार्यालयमा करिब १० लाख रुपैयाँभन्दा बढीको क्षति पुगेको छ भने नेकपा एमाले झापाको कार्यालय पूर्ण रूपमा क्षतिग्रस्त भएको बताइएको छ।

Advertisement

संविधान मस्यौदा समितिका संयोजक समेत रहेका सिटौलाले घटनालाई जेन–जीको मागभन्दा पृथक् ढङ्गले देशभर एकैसाथ भएको हिंसा, लुटपाट र आगजनीको घटनासँग तुलना गर्दै, यसका योजनाकार र संलग्न व्यक्तिहरू क्रमशः खुल्दै जाने बताएका छन्।

नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भने, राजनीतिक दलहरूले जेन–जी आन्दोलनको भावनालाई ध्यानमा राख्दै आफूलाई परिमार्जन गरेर जनतासँग जोडिनुपर्ने धारणा व्यक्त गरे।

आगलागी भएका पार्टी कार्यालयहरूको अवलोकनका क्रममा नेकपा एमालेका प्रेम गिरी र पूर्व सांसद हरिचरण शिवाकोटीले दलहरूको भावी कार्यक्रमबारे कांग्रेस नेताहरूसँग जिज्ञासा राखेका थिए।

सिटौलाले यस्तो विध्वंसात्मक घटनाले देशको लोकतान्त्रिक प्रक्रिया र राजनीतिक स्थायित्वमा असर पुर्याउने भएकाले सबै दलहरूले सहकार्यमा ध्यान दिनुपर्नेमा जोड दिएका छन्।

यसअघि आन्दोलनकारीहरूले जेन–जीका माग सामाजिक सञ्जाल सञ्चालन, भ्रष्टाचारमुक्त सुशासनको स्थापनाजस्ता माग राखेका थिए। तर, झापामा भएको हिंसात्मक घटनाले आन्दोलनको मूल उद्देश्यभन्दा पृथक् ढङ्गले ठूलो क्षति पुर्‍याएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)