झापा, चैत २९ ।झापाको बुद्धशान्ति गाउँपालिका–३ धाईजनस्थित मेची राजमार्गमा आइतबार अपराह्न तीनवटा मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अन्य चार जना घाइते भएका छन् ।
चारआलीबाट बुधबारेतर्फ आउँदै गरेका दुईवटा र विपरीत दिशाबाट जाँदै गरेको अर्को एउटा मोटरसाइकल ठोक्किँदा उक्त दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
दुर्घटनामा परेर इलाम नगरपालिका–६ बस्ने अन्दाजी २५ वर्षीय भुपेन्द्र श्रेष्ठको ज्यां*न गएको छ । प्रदेश १-०१-०१२ प ७६३५ नम्बरको मोटरसाइकल चालक रहेका श्रेष्ठको टाउको, खुट्टा र शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको थियो । उनलाई तत्काल उपचारका लागि बिर्तामोडस्थित बी एन्ड सी अस्पताल पुर्याइए पनि चिकित्सकले बेलुकी ५:१० बजे मृत घोषणा गरेका प्रहरीले विज्ञप्ति मार्फत जनाएको छ।
दुर्घटनामा परेर अन्य दुईवटा मोटरसाइकलमा सवार चार जना घाइते भएका छन् । प्रदेश १-०२-०४१ प ८९८७ नम्बरको मोटरसाइकल चालक सुनसरी धरान–१५ का २७ वर्षीय मनी कुमार देवान र सोही मोटरसाइकलको पछाडि सवार इटहरी–५ का २७ वर्षीय अनिष बस्नेत घाइते छन् । देवानको अवस्था मध्यम र बस्नेतको अवस्था सामान्य छ ।
यस्तै, को ३१ प ९२९० नम्बरको मोटरसाइकलका चालक इटहरी–५ का २९ वर्षीय नन्दबहादुर मगर र पछाडि सवार इटहरी–१७ का २९ वर्षीय कमल मगर पनि घाइते भएका छन् । घाइते चारै जनाको बिर्तामोडस्थित स्पाइनक्स अस्पतालमा उपचार भइरहेको छ । इलाका प्रहरी कार्यालय बुधबारेका अनुसार दुर्घटनामा परेका तीनवटै मोटरसाइकल प्रहरीको नियन्त्रणमा रहेका छन् भने घटनाबारे थप अनुसन्धान भइरहेको छ ।


















