झापा । झापामा नेपाली सेनाले पेट्रोलियम (संयुक्त) फौजी गस्ती सुरु गरेको छ। माघ २१ गतेदेखि झापा जिल्लाका पाँचवटै निर्वाचन क्षेत्रलाई लक्षित गर्दै उक्त गस्ती सञ्चालनमा ल्याइएको हो।
सुरक्षा स्रोतका अनुसार झापा जिल्लास्थित चारआली गणबाट सुरु गरिएको गस्तीले जिल्लाका संवेदनशील क्षेत्रहरू समेट्दै सुरक्षा व्यवस्था सुदृढ बनाउने उद्देश्य राखेको छ। गस्तीमार्फत निर्वाचन क्षेत्रहरूमा सम्भावित जोखिम न्यूनिकरण गर्दै शान्ति, सुरक्षा र स्थायित्व कायम राख्न सेनाले आफ्नो गतिविधि बढाएको हो।
संयुक्त गस्तीमा नेपाली सेना सहित अन्य सुरक्षा निकायको समन्वय रहेको बताइएको छ। पछिल्लो समय जिल्लामा सुरक्षा सतर्कता आवश्यक देखिएपछि नियमित निगरानी र उपस्थितिलाई प्रभावकारी बनाउन गस्ती सुरु गरिएको सुरक्षा स्रोतको भनाइ छ।

सुरक्षा निकायले गस्तीलाई निरन्तरता दिने र आवश्यकता अनुसार थप सशक्त बनाइने जनाएको छ। स्थानीय प्रशासनले पनि यसले आमनागरिकमा सुरक्षा अनुभूति बढाउने विश्वास व्यक्त गरेको छ।


















