✍️ हल्दीबारी डटकम | झापा । झापामा सशस्त्र प्रहरी र नेपाल प्रहरीबीचको मिलेमतोमा खुलेआम तस्करी हुने गरेको आरोप लागेका छन्। दक्षिणी झापाका सीमाक्षेत्रहरूमा प्रहरीकै सेटिङमा भारतबाट प्रतिबन्धित वस्तुहरू भित्र्याउने क्रम खुलेआम बढेको स्थानीयवासीको आरोप छ।

आइतबार दिउँसो झापा गाउँपालिका–२ नरिवल टोलका युवाहरूले भारतबाट प्रतिबन्धित माछा बोकेको महेन्द्रा पिकअप (प्र.१–०१–००२च०६५२) गाडी रोकेका थिए। तर, सो गाडी प्रहरीले नै ‘सुरक्षा’ भन्दै तस्करको हातमा पुनः चाबी थमाएर भगाएको घटनाले स्थानीय स्तब्ध बनेका छन्।

साक्षी सहदेवकुमार मण्डलका अनुसार, “हामीले माछा लोड गरिएको गाडी रोकेर चाबी खोसेका थियौं। तर इलाका प्रहरी कार्यालय कुमरखोदका घुमुवा सहायक हवल्दार विकास घिमिरे आएर उल्टै हामीलाई धम्क्याए र तस्करलाई जोगाउँदै गाडी भगाए।”

त्यही क्रममा अर्का प्रत्यक्षदर्शी राजु महतोले भने, “घिमिरेले गाडीलाई सशस्त्र बेस क्याम्प लाने भन्दै चाबी फिर्ता दिए। तर गाडी सिधै बाटोमै हरायो — प्रहरीकै मिलेमतोमा।”

इलाका प्रहरी सहायक हवल्दार घिमिरेले भने आफूले “झगडा छुट्याउने क्रममा गाडी हराएको” भन्दै जिम्मेवारी टारेका छन्। उता टाँघनडुब्बास्थित सशस्त्र प्रहरीका बीओपी प्रमुख प्रेम गुरुङले “म हालमात्र सरुवा भएर आएकोले थाहा छैन” भन्ने प्रतिक्रिया दिएका छन्।

स्थानीय युवाहरूले भने प्रहरी र तस्करबीचको यो गहिरो मिलेमतोले सिमानामा कानूनको हैसियत नै कमजोर भएको बताएका छन्।

झापाका कचनकवलको पाठामारी, केचना, घेराबारीदेखि डिगलबैक, पन्थपाडा र गौरीगञ्जसम्मका नाकाहरूबाट अहिले पनि लत्ताकपडा, बाख्रा, माछा, हार्डवेयर र किराना सामान खुलेआम भित्रिने गरेको स्थानीयको दाबी छ।

सिमानामा सशस्त्र र प्रहरीको उपस्थिति हुँदाहुँदै पनि यस्तो ‘सुरक्षा आवरणमा तस्करी’ बढ्दै जाँदा जनता प्रश्न गर्न थालेका छन् –
“तस्करमाथि कारबाही गर्ने प्रहरी नै तस्करीको पहरेदार बनेको हो?”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0

+1
0

+1
0

+1
0

+1
0

+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार