शिवसताक्षी, झापा । झापाको शिवसताक्षी नगरपालिका वडा नम्बर ७ लालपानीमा गएराति विद्युत सर्ट भई भीषण आगलागी हुँदा एक घर जलेर पूर्ण रूपमा नष्ट भएको छ। स्थानीय ४५ वर्षीय घनश्याम खतिवडाको टिनको छानो र बाँसको टाँटी बेरा भएको पुरानो खाली एक तले घरमा मंगलबार राति साढे ७ बजे अचानक आगो सल्किएको थियो। बिजुलीको तार सर्ट भएर सुरु भएको आगोले क्षणभरमै घरलाई चपेटामा लिएको थियो।
घटना लगत्तै खटिएको नेपाल प्रहरीको टोली, स्थानीय बासिन्दा र शिवसताक्षी नगरपालिकाको बारुणयन्त्रको अथक प्रयासपछि राति ८ बजेर २० मिनेटमा आगो पूर्ण रूपमा नियन्त्रणमा आएको थियो। आगलागीबाट घरभित्र रहेका सम्पूर्ण फर्निचर र लत्ताकपडा जलेर नष्ट भएका छन्। जिल्ला प्रहरी कार्यालय झापाका अनुसार उक्त आगलागीबाट मानवीय तथा चौपाया क्षति भने हुन पाएन।
प्रहरीको प्रारम्भिक मुचुल्का अनुसार घर र भित्र रहेका सामानहरू नष्ट हुँदा करिब ५ लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको अनुमान गरिएको छ। आगो नियन्त्रणमा आएपछि थप जोखिम टरेको भए पनि खतिवडाको पुरानो घर भने बस्नै नमिल्ने गरी क्षतिग्रस्त भएको छ।

















