झापामा भाद्र २३–२४ गते भएको जेन–जी आन्दोलनका क्रममा सिर्जित हिंसा, तोडफोड र आगजानीबारे जिल्ला समन्वय समितिले हिजो छलफल गरेको छ। बैठकमा स्थानीय तहका प्रमुख तथा उपप्रमुखको उपस्थिति थियो।
बैठकका अनुसार, आन्दोलन सुरुमा शान्तिपूर्ण भए पनि केही समूहले नियन्त्रणबाहिरको स्थिति सिर्जना गरे। यस क्रममा गोली चल्दा १९ जना विद्यार्थीको ज्यान गएको र सयौं घाइते भएका थिए। २४ गतेको प्रदर्शनमा थप युवा प्रहरी र विद्यार्थीको मृत्यु भएको थियो। मृतक र घाइतेप्रति सम्मान र राहतको व्यवस्थाका लागि राज्यसँग जोडदार माग गरिएको छ।

बैठकले निम्न निर्णयहरू गरेको छ:
१. तोडफोड र आगजानी भएका पालिकामा ५ दिनभित्र मुजुल्का तयार गर्ने।
२. शान्ति सुरक्षा सुनिश्चित गर्दै सेवा पुनः सञ्चालन गर्ने।
३. घटना स्थलगत मुजुल्का तयार भएपछि पालिकाको सञ्चालन सुरु गरिने।
४. सार्वजनिक, निजी र संस्थागत विद्यालयहरू भाद्र २९ भित्र सञ्चालन गर्ने।
५. आगजानी र तोडफोडमा संलग्न व्यक्तिहरूको तथ्य प्रशासनलाई उपलब्ध गराइ कारबाही अघि बढाउने।
जिल्ला समन्वय समितिले जनजीवन अस्थिर पार्ने हिंसात्मक घटनाको विरोध गर्दै स्थानीय प्रशासनलाई पूर्ण सहयोग र निष्पक्ष छानविनको माग गरेको छ।


