एजेन्सी , असार ८ । पश्चिम एसिया (मिडिल इस्ट) मा जारी युद्ध र साढे तीन महिना लामो तनाव अन्त्य गर्ने उद्देश्यका साथ स्विट्जरल्याण्डमा सुरु भएको अमेरिका–इरान उच्चस्तरीय शान्ति वार्ता पहिलो दिनमै संकटमा परेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कडा धम्कीपूर्ण अभिव्यक्ति सार्वजनिक भएलगत्तै इरानी प्रतिनिधिमण्डलले वार्ता बीचमै छाडेर हिँडेको (वॉकआउट गरेको) छ । इरानी सरकारी सञ्चारमाध्यमका अनुसार लेबनानमा जारी इजरायली आक्रमण पूर्ण रूपमा बन्द नभएसम्म अन्य कुनै पनि एजेन्डामा वार्ता अघि नबढ्ने अडान इरानले राखेको छ ।
वार्ताको पृष्ठभूमिमा अमेरिकी राष्ट्रपति ट्रम्पले फक्स न्युजसँग कुरा गर्दै इरानलाई रणनीतिक रूपमा अत्यधिक संवेदनशील मानिने ‘होर्मुज जलडमरूमध्ये’ (Strait of Hormuz) बन्द नगर्न चेतावनी दिनुभएको थियो । ट्रम्पले भन्नुभएको छ, “यदि इरानले उक्त मार्ग बन्द गरेमा उनीहरूका वार्ता टोलीका सदस्य आफ्नो देश फिर्ता जान पाउने छैनन् र इरान जोगिने छैन ।”
राष्ट्रपति ट्रम्पले विश्वकै प्रमुख तेल ढुवानी मार्गको रूपमा रहेको होर्मुज जलमार्गलाई सुरक्षित राख्न र तेलका जहाजहरूबाट महसुल (टोल) उठाउन अमेरिकाले यस क्षेत्रको प्रत्यक्ष सैन्य नियन्त्रण आफ्नो हातमा लिन सक्ने समेत दाबी गर्नुभएको छ । आगामी ६० दिनभित्र ठोस सहमति नभए अमेरिकाले कठोर आर्थिक कदम चाल्ने उहाँको संकेत छ ।
कतार र पाकिस्तानको विशेष मध्यस्थतामा स्विट्जरल्याण्डको उच्च सुरक्षासहितको बर्जेनस्टॉक रिसोर्टमा यो वार्ता आयोजना गरिएको हो । वार्तामा अमेरिकाको तर्फबाट उपराष्ट्रपति जेडी भेन्स र इरानको तर्फबाट संसदका सभामुख एमबी गलिबाफले आ–आफ्नो टोलीको नेतृत्व गरिरहनुभएको छ ।
वार्तालाई निष्कर्षमा पुर्याउन कतारका प्रधानमन्त्री एवं विदेशमन्त्री अब्दुलरहमान अल थानी, पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफ र पाकिस्तानी सैन्य प्रमुख फिल्ड मार्सल असिम मुनिुरका साथै अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (IAEA) का प्रमुख राफेल ग्रोसी समेत स्विट्जरल्याण्डमा उपस्थित हुनुहुन्छ ।
वार्ता भाँडिएसँगै र होर्मुज स्ट्रेट बन्द हुन सक्ने त्रासका कारण खाडी मुलुक (गल्फ) का सेयर बजारहरूमा हिजैदेखि गिरावट आउन सुरु गरिसकेको छ । आर्थिक विश्लेषकहरूका अनुसार आज सोमबारबाट अन्तर्राष्ट्रिय बजारमा कच्चा तेल (क्रुड आयल) को मूल्यमा उल्लेख्य वृद्धि हुन सक्नेछ, जसको असर विश्व अर्थतन्त्रमा पर्नेछ ।
यसैबीच, इजरायलले लेबनानको दक्षिणी भेग र बेरूतका बुढ्यौली बस्तीहरूमा ५०० देखि १००० किलोसम्मका शक्तिशाली बमहरू बर्साएर आक्रमण अझ तीव्र पारेको छ । युद्ध रोक्न अन्तर्राष्ट्रिय समुदायले गरेको यो पछिल्लो प्रयास असफलतातर्फ धकेलिएपछि पश्चिम एसियाको संकट झन् भयावह बन्ने जोखिम बढेको छ ।

















