हल्दिबारी (झापा) । झापाको हल्दिबारी गाउँपालिकामा सामुदायिक विद्यालयहरूको शैक्षिक गुणस्तर सुधारका लागि सरोकारवालाहरूबीच वृहत् अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। हल्दिबारी गाउँपालिका शिक्षा शाखाको आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो।
गाउँपालिका अध्यक्ष एवं शिक्षा समिति संयोजक रविन्द्र प्रसाद लिङ्देनको अध्यक्षतामा भएको कार्यक्रममा पालिकाभित्रका १७ वटा सामुदायिक विद्यालय र एकवटा धार्मिक विद्यालयका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा अभिभावकहरूको सहभागिता रहेको थियो।
हाल हल्दीबारीका सामुदायिक विद्यालयहरूमा करिब ३ हजार ५ सय विद्यार्थी अध्ययनरत छन्। कार्यक्रममा सहभागी सरोकारवालाहरूले सामुदायिक विद्यालयमा दिगो रूपमा विद्यार्थी संख्या घट्दै गएको प्रति चिन्ता व्यक्त गर्दै शिक्षाको गुणस्तर सुधार्न तत्काल कदम चाल्नुपर्नेमा जोड दिए।
छलफलका क्रममा शिक्षा क्षेत्रमा सुधार ल्याउन अभिभावक, शिक्षक, जनप्रतिनिधि र राजनीतिक दलहरू एकजुट भएर लाग्नुपर्ने आवाज उठाइएको थियो। व्यापक प्रयासका बाबजुद पनि सुधार हुन नसकेका कमजोर विद्यालयहरूलाई एकापसमा गाभेर (मर्ज गरी) शैक्षिक गुणस्तर चुस्त बनाउनुपर्ने सुझाव समेत सरोकारवालाहरूले दिएका छन्
हल्दीबारीका सामुदायिक विद्यालयहरूमा हाल १७४ जना दरबन्दीका शिक्षक कार्यरत छन्। दरबन्दीले नपुगेर पठनपाठनमा बाधा पुगेपछि पालिकाले आफ्नै आन्तरिक स्रोतबाट थप ५२ जना शिक्षकहरू व्यवस्थापन गरी परिचालन गरिरहेको जानकारी कार्यक्रममा दिइयो।
कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष रविन्द्र प्रसाद लिङ्देन, उपाध्यक्ष लक्ष्मी मैनाली, प्रमुख प्रशासकीय अधिकृत मानबहादुर बन महेन्द्र र वडा अध्यक्ष शुक्ल राजवंशी लगायतले शिक्षा क्षेत्रमा पालिकाले गरेको उल्लेखनीय लगानी, त्यसको प्रतिफल र आगामी रणनीतिका विषयमा आ-आफ्नो धारणा राख्नुभएको थियो। उहाँहरूले पालिकाको लगानी अनुसारको शैक्षिक परिणाम निकाल्न सबै पक्ष जिम्मेवार हुनुपर्नेमा जोड दिनुभयो।
शिक्षा शाखा प्रमुख जनककुमारी राईले अन्तरक्रिया कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै पालिकाको शैक्षिक अवस्थाबारे प्रष्ट पार्नुभएको थियो भने कार्यक्रमको सहजीकरण गाउँ शिक्षा सहजकर्ता दुर्गाप्रसाद अधिकारीले गर्नुभएको थियो।

















