ताइपेई । ताइवानको उत्तर–पूर्वी तटीय क्षेत्रलाई केन्द्रविन्दु बनाएर शनिबार ७.० म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। ताइवानको प्रशासनका अनुसार भूकम्पको केन्द्र यिलान सहरबाट करिब ३२ किलोमिटर टाढा समुद्रमा, करिब ७३ किलोमिटर गहिराइमा रहेको थियो।
भूकम्पको धक्का राजधानी ताइपेईसहित टापुभरि महसुस गरिएको थियो। प्रत्यक्षदर्शीका अनुसार अग्ला भवनहरू केही समयसम्म हल्लिएका थिए। यद्यपि केन्द्रविन्दु समुद्रमा र गहिराइमा भएकाले ठूलो मानवीय तथा भौतिक क्षति हुन नपाएको प्रारम्भिक विवरणमा उल्लेख गरिएको छ।
सरकारी अधिकारीहरूका अनुसार केही स्थानमा ग्यास र पानीका पाइप फुटेका छन् भने केही भवनमा सामान्य क्षति पुगेको छ। यिलान क्षेत्रमा तीन हजारभन्दा बढी घरधुरीमा केही समय विद्युत् आपूर्ति अवरुद्ध भएको थियो।
विश्वकै ठूला चिप उत्पादक कम्पनीमध्ये एक, टीएसएमसी (TSMC) ले सुरक्षा कारण देखाउँदै आफ्ना केही प्लान्टबाट कर्मचारीहरूलाई अस्थायी रूपमा बाहिर निकालेको थियो। अवस्था सामान्य भएपछि कर्मचारीहरू पुनः काममा फर्किएको कम्पनीले जनाएको छ।
ताइवानका राष्ट्रपति लाइ चिङ–तेले सामाजिक सञ्जालमार्फत स्थिति नियन्त्रणमा रहेको जानकारी दिँदै नागरिकहरूलाई सतर्क रहन आग्रह गरेका छन्। प्रशासनले आगामी दिनहरूमा ५.५ देखि ६.० म्याग्निच्युडसम्मका पराकम्पनहरू आउन सक्ने चेतावनी पनि दिएको छ।
दुईवटा प्रमुख टेक्टोनिक प्लेटको संगमस्थलमा रहेको ताइवान भूकम्पको उच्च जोखिममा पर्ने क्षेत्र मानिन्छ। सन् १९९९ मा आएको ७.३ म्याग्निच्युडको भूकम्पमा दुई हजारभन्दा बढी मानिसको ज्यान गएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार