नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीका रुपमा आफूले दुई पटकसम्म गरेको संसद विघटनलाई ठीक भएका छन्। उक्त निर्णयलाई असंवैधानिक र गलत भएको आवाज पार्टी भित्रै उठिरहँदा जारी केन्द्रीय कमिटी बैठकमा संसद विघटनबारे उठेका प्रश्नको जवाफ दिँदे उनले यस्तो भनेका हुन्।

संसद विघटनसम्बन्धी आफ्नो कदमको बचाउका क्रममा उनले निर्वाचनमा जाने निर्णय कहिले पनि गलत नहुने तर्क गरेका छन्। च्यासलस्थित तुलसीलाल अमात्य स्मृति प्रतिष्ठानमा तीन दिनदेखि जारी केन्द्रीय कमिटी बैठकमा जवाफ दिने क्रममा उनले ताजा जनादेशमा जाने कुरालाई लोकतन्त्रमा गलत ठहर्याउन नसकिने बताएका छन्।

उनले आफूलाई सरकार र पार्टीबाट हटाउन तत्कालीन अवस्थामा पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले अनेक षड्यन्त्रका तानाबुना बुनेको पनि दाबी गरे। ओलीले पहिलो पटक २०७७ पुस ५ गते र दोस्रो पटक गत जेठ ७ गते राति प्रतिनिधिसभा विघटन गरेका थिए। तर उनको दुवै पटकको कदमलाई सर्वोच्च अदालतले उल्टाइदिएको छ।