दमक, १० चैत । झापाको दमक नगरपालिका–१० स्थित दमक एग्रिकल्चर फार्म प्रा. लि.मा पालिएका लेयर्स कुखुरामा बर्डफ्लु संक्रमण पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालय झापाले प्रभावित क्षेत्रलाई संकटग्रस्त घोषणा गरेको छ।
निमित्त प्रमुख जिल्ला अधिकारी तेजप्रकाश प्रशाईका अनुसार संक्रमण थप फैलिन नदिन फार्म वरिपरि २० मिटर क्षेत्रलाई संकटग्रस्त क्षेत्र घोषणा गरी विज्ञ पशु प्राविधिक बाहेक अन्य व्यक्तिको आवतजावतमा पूर्ण प्रतिबन्ध लगाइएको छ।
संक्रमण पुष्टि भएसँगै प्रभावित क्षेत्रबाट कुखुरा, अण्डा तथा अन्य पन्छीजन्य सामग्रीको ओसारपसार पूर्ण रूपमा रोकिएको छ। फार्ममा करिब २० हजार कुखुरा रहेको र नजिकैको अर्को फार्मका थप ५ हजार गरी करिब २५ हजार कुखुरा नष्ट गर्ने कार्य सुरु गरिएको छ।
सञ्चालक देवेन्द्र प्रसाईका अनुसार अचानक धेरै कुखुरा मर्न थालेपछि परीक्षण गर्दा बर्डफ्लु पुष्टि भएको हो। संक्रमण पुष्टि भएपछि कुखुरा तथा अण्डा बिक्री तत्काल रोकिएको थियो।
दमक नगरपालिकाका प्रमुख रामकुमार थापाले सरोकारवाला निकायसँगको समन्वयमा संक्रमित तथा जोखिमयुक्त कुखुरा नष्ट गर्ने कार्य तीव्र रूपमा अघि बढाइएको जानकारी दिएका छन्।
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र झापाकी प्रमुख शीतल भट्टराईका अनुसार तीन वटा द्रुत प्रतिक्रिया टोली परिचालन गरी खाडल खनेर कुखुरा, दाना तथा अण्डा सुरक्षित रूपमा नष्ट गर्ने कार्य भइरहेको छ।
यस घटनापछि स्थानीय बजारमा कुखुरा र अण्डाको व्यापारमा गिरावट आएको छ। उपभोक्तामा त्रास फैलिँदा बिक्री प्रभावित भएको व्यवसायीहरूले बताएका छन्। यद्यपि कुखुराजन्य परिकार राम्रोसँग पकाएर खाँदा मानव स्वास्थ्यमा जोखिम न्यून हुने विज्ञहरूको भनाइ छ। व्यवसायीहरूले अफवाहका कारण व्यवसायमा ठूलो असर परेको भन्दै सचेतना आवश्यक रहेको बताएका छन्।


















