झापा, माघ २१ । झापाको दमक नगरपालिका–१ बरगाछीस्थित भित्री सडक खण्डमा टिपर र मोटरसाइकल एक–आपसमा ठोक्किँदा दुई युवकको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रबहादुर खड्काका अनुसार सोमबार अपराह्न करिब ३:३० बजे दमकबाट रामचोकतर्फ जाँदै गरेको मे १ ख २८८४ नम्बरको टिपर र दुर्गा मन्दिरबाट पेल्टीमारीतर्फ जाँदै गरेको प्र.१–०१–०१८ प ८३०३ नम्बरको मोटरसाइकल ठोक्किँदा दुर्घटना भएको हो।
दुर्घटनामा मोटरसाइकल चालक इलामको चुलाचुली गाउँपालिका–४ निवासी २२ वर्षीय प्रवेश राई र पछाडि सवार सोही स्थानका १९ वर्षीय जनम राई गम्भीर घाइते भएका थिए। उनीहरूलाई उपचारका लागि दमक अस्पताल लगिएकोमा अपराह्न ३:५० बजे चिकित्सकले दुवैलाई मृत घोषणा गरेको प्रवक्ता खड्काले जानकारी दिए।
टिपर चालक उदयपुरको त्रियुगा नगरपालिका–९ राटमाटे निवासी ३२ वर्षीय हिबराज रायलाई प्रहरीले नियन्त्रणमा लिएको छ। टिपर र मोटरसाइकल दुवैलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय दमकमा राखिएको प्रहरीले जनाएको छ।
दुवै मृतकको शव हाल दमक अस्पतालमै राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


















