दमक (झापा), १६ माघ । झापाको दमक नगरपालिका–१ स्थित सूर्योदय टोलमा बुधबार दिउँसो विद्युत सर्ट भएर भएको आगलागीमा दुई वटा कच्ची घर पूर्ण रूपमा जलेर नष्ट भएका छन्।
जिल्ला प्रहरीका अनुसार दिउँसो करिब ३ः४३ बजे ५७ वर्षीय हर्कबहादुर कुमालको काठ र टिनले बनेको एकतले कच्ची घरमा विद्युत सर्ट भई आगलागी सुरु भएको थियो। आगो फैलिँदै नजिकै रहेको उनका ५० वर्षीय भाइ हरिबहादुर कुमालको काठले बनेको टिनको छानो भएको एकतले कच्ची घरमा समेत सल्किएको थियो।
आगलागीबाट हर्कबहादुर कुमालको घरभित्र रहेको आधा तोला सुन, खाद्यान्न, लत्ताकपडा तथा फर्निचर जलेर करिब चार लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ। त्यस्तै, हरिबहादुर कुमालको घरमा रहेका खाद्यान्न, लत्ताकपडा र फर्निचर जलेर करिब तीन लाख रुपैयाँ बराबरको क्षति भएको छ।
दमक नगरपालिका, कमल गाउँपालिका र मोरङको उर्लाबारी नगरपालिकाबाट आएका दमकल, इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोली, सशस्त्र प्रहरी बल तथा स्थानीयवासीको सहयोगमा आगो दिउँसो करिब ४ः५० बजे पूर्ण रूपमा नियन्त्रणमा लिइएको थियो।


आगलागीबाट मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार