झापा, १४ चैत । झापाको दमकमा सिसीटीभी (CCTV) क्यामेराको तार जडान गर्ने क्रममा करेन्ट लागेर शनिबार बिहान एक जनाको दुःखद मृत्यु भएको छ। दमक नगरपालिका वडा नं. ८ स्थित सेतुमारी मार्गमा आफ्नै घरमा सुरक्षा क्यामेरा जडान गर्न खोज्दा करेन्ट लागेर स्थानीय २८ वर्षीय निरोज साहको ज्यान गएको हो।
प्रहरीका अनुसार साहले आफ्नो किराना पसलबाट सडक पारि रहेको आफ्नै तीन तले घरमा सिसीटीभीको कनेक्सन लैजान खोजिरहेका थिए। सोही क्रममा छिमेकी मनोज साहको घरको छत हुँदै तार तान्ने प्रयास गर्दा उक्त तार विद्युतको हाइटेन्सन लाइनमा पर्न गएको थियो। तारमा विद्युत प्रवाह हुँदा साह गम्भीर घाइते भएका थिए।
घटनालगत्तै घाइते साहलाई तत्काल उपचारका लागि दमकस्थित लाइफ लाइन अस्पताल पुर्याइएको थियो। अस्पतालमा उपचार जारी रहेकै अवस्थामा बिहान ९:२० बजे चिकित्सकहरूले उनलाई मृत घोषणा गरेका थिए। हाल मृतकको शव सोही अस्पतालमा राखिएको छ।
घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय दमकबाट प्रहरी निरीक्षक नवीन राईको नेतृत्वमा एउटा टोली घटनास्थल पुगेको छ। प्रहरीले घटनाको सम्बन्धमा थप प्राविधिक विवरण संकलन गर्नुका साथै आवश्यक कानुनी प्रक्रिया अगाडि बढाएको जनाएको छ।


















