काठमाडौं, साउन २० । नेपाल स्वयंसेवी रक्तदाता समाज, काठमाडौं जिल्ला नागर्जुन नगर समितिको गठनार्थ एक भेलाको आयोजना आज नागर्जुनस्थित सञ्जीवनी अस्पतालको सभाकक्षमा सम्पन्न भएको छ।

केन्द्रीय अध्यक्ष तथा सर्वाधिक शतक स्वयंसेवी रक्तदाता प्रेमसागर कर्माचार्यको प्रमुख आतिथ्यमा सम्पन्न सो भेलामा नेपाल रेडक्रस सोसाइटी काठमाडौं जिल्ला शाखाका पूर्व कार्यसमिति सदस्य एवं स्वयंसेवी रक्तदाता ईश्वर बलामीले सभाध्यक्षता गर्नुभयो।

कार्यक्रममा प्रमुख अतिथि कर्माचार्यले स्थानीय तहबाट रक्तदान सचेतना अभियान सशक्त नबनाइन्जेल रक्त व्यवस्थापनको गुणात्मक सुधार सम्भव नहुने धारणा व्यक्त गर्नुभयो। “रक्तदान मात्र होइन, त्यसबाट तयार पारिने रक्ततत्वहरूको बारेमा पनि जनचेतना फैलाउन आवश्यक छ,” उहाँले भन्नुभयो।

भेलाबाट ईश्वर बलामीको अध्यक्षतामा ९ सदस्यीय नगर कार्य समिति चयन गरिएको छ। जसमा उपाध्यक्षमा दौलत बिष्ट, सचिवमा राधेश्याम बलामी, कोषाध्यक्षमा सिजन श्रेष्ठ चयन हुनुभएको छ। सदस्यहरूमा क्रमशः मनोज मानन्धर, माधव मानन्धर, घनश्याम गौतम, प्रकाश बलामी र दिलिप भट्टराई रहेका छन्।

नवगठित समितिलाई बधाई तथा कार्यकाल सफलताको शुभकामना दिंदै अध्यक्ष कर्माचार्यले समाजको उद्देश्यप्रति प्रतिबद्ध रही अघि बढ्न आग्रह गर्नुभयो। कार्यक्रममा रक्तदानको महत्त्व र समाजको भूमिकाका बारेमा समेत विस्तृत चर्चा गरिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
1

+1
0

+1
0

+1
0

+1
0

+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार