झापा: नेपाल आयल निगम ले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ।
निगमका अनुसार पेट्रोलमा प्रतिलिटर १५ रुपैयाँ र डिजेल तथा मट्टीतेलमा प्रतिलिटर १० रुपैयाँका दरले मूल्य बढाइएको हो। बढेको मूल्य आज राति १२ बजेदेखि लागू हुने निगमले जनाएको छ।
नयाँ मूल्यअनुसार तेस्रो वर्गमा पर्ने काठमाडौं, पोखरा र दिपायल मा पेट्रोलको मूल्य प्रतिलिटर १७२ रुपैयाँ कायम गरिएको छ। सोही वर्गमा डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १५२ रुपैयाँ पुगेको छ।
दोस्रो वर्गअन्तर्गत पर्ने दाङ र सुर्खेत मा पेट्रोल प्रतिलिटर १७१ रुपैयाँ तथा डिजेल र मट्टीतेल प्रतिलिटर १५१ रुपैयाँ कायम गरिएको छ।
पहिलो वर्गअन्तर्गत पर्ने चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज मा पेट्रोलको मूल्य प्रतिलिटर १६९ रुपैयाँ ५० पैसा तथा डिजेल–मट्टीतेल प्रतिलिटर १४९ रुपैयाँ ५० पैसा निर्धारण गरिएको निगमले जनाएको छ।
निगमका अनुसार अमेरिका–इजरायल–इरान बीचको तनावका कारण उत्पन्न अन्तर्राष्ट्रिय परिस्थितिको प्रभावले मूल्य समायोजन गर्नुपरेको हो।
‘यस विषम परिस्थितिबीच नेपाल आयल निगम लिमिटेडले बाध्यतावश पेट्रोलियम पदार्थको मूल्य अपेक्षाभन्दा बढाउनुपरेको छ,’ निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। ‘यसबाट आम उपभोक्ता लगायत सरोकारवालामा पर्ने असरप्रति निगम सचेत र संवेदनशील छ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार