झापा । नेपाल रेडक्रस सोसाइटी को समन्वय र सहकार्यमा झापाका विभिन्न स्थानमा सञ्चालन भइरहेको सर्पदंश उपचार सेवा प्रभावकारी बन्दै गएको छ। रेडक्रस झापाका सभापति लोकराज ढकाल ले यस्तो जानकारी दिनुभएको हो।
रेडक्रस अन्तर्गत दमक उपशाखाले उपचार सेवासँगै सर्प संग्रहालयसमेत विकास गरेको जनाएको छ। जिल्लामा सर्पदंशका घटना उच्च देखिएपछि कनकाई नदी किनारको सुरुङ्गास्थित सुरुङ्गाको कोटीहोम क्षेत्रमा विभिन्न संघसंस्थासँगको सहकार्यमा थप सेवा विस्तार गरिएको हो।

हाल रेडक्रसको समन्वय र सहभागितामा झापाका दुई स्थानबाट नियमित रूपमा सर्पदंश उपचार सेवा उपलब्ध गरिँदै आएको छ। चालु प्रतिवेदन वर्षमा यी दुवै केन्द्रबाट चालु आर्थिक वर्ष २०८१/०८२ मा ४९१ पुरुष र ४७५ महिला गरी कुल ९६६ जनाले सेवा लिएका छन्।
सेवा सहज र नियमित हुँदा सर्पदंशका बिरामीलाई समयमै उपचार पाउन सहयोग पुगेको सभापति ढकालले बताउनुभयो।
यसैबीच, झापामा नेपाली सेना र कचनकवल गाउँपालिकाले पनि सर्पदंश उपचार सेवा सञ्चालन गर्दै आएका छन्। ती केन्द्रहरूबाट सेवा लिनेको सङ्ख्याबारे भने यस समाचार तयार पार्दासम्म यकिन विवरण उपलब्ध हुन सकेको छैन।
