बिर्तामोड, झापा । झापाको बिर्तामोड–५ स्थित न्युटन्स एजुकेशन एकेडेमीले आफ्नो २३औँ वार्षिकोत्सव तथा अभिभावक दिवस विभिन्न शैक्षिक र सांस्कृतिक कार्यक्रमसहित सम्पन्न गरेको छ।
कार्यक्रम विद्यालय व्यवस्थापन समितिका कार्यवाहक अध्यक्ष गोपीकृष्ण प्रसाईंको अध्यक्षतामा र मेची आँखा अस्पतालका अध्यक्ष जलकुमार गुरुङको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो। कार्यक्रममा शिक्षा, पत्रकारिता, समाजसेवा र खेलकुद क्षेत्रमा योगदान पुर्याएका व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो।
विद्यालयकी छात्रा अनन्या खरेलले अतिथिलाई स्वागत गरेकी थिइन् भने प्रिन्सिपल देवेन्द्र हुमागाईंले विद्यालयको स्थापना कालदेखि हालसम्मको शैक्षिक यात्रा, उपलब्धि र भविष्य योजना प्रस्तुत गर्दै गुणस्तरीय, व्यवहारिक र जीवनोपयोगी शिक्षामा केन्द्रित रहेको बताए।
वार्षिकोत्सवको अवसरमा एभिन्युज टेलिभिजन झापाका संवाददाता र साझा अनलाइनका सम्पादक सन्तोष न्यौपानेलाई बालबालिका र शिक्षाको क्षेत्रमा पत्रकारिताबाट पुर्याएको योगदानको कदर गर्दै दोसल्ला ओढाएर सम्मान गरिएको थियो। न्यौपाने विगत दुई दशकदेखि निरन्तर पत्रकारितामा सक्रिय रहँदै आएका छन्।
कार्यक्रममा उत्कृष्ट शिक्षक, अभिभावक र विद्यार्थीलाई पनि सम्मान गरिएको थियो। उत्कृष्ट शिक्षकमा केवल सापकोटा, सेकेन्डरी इन्चार्ज शिक्षक नोयल परेरा, उत्कृष्ट अभिभावकमा मदनगोपाल सुब्बा र मेनुका ओली लोहनी तथा कक्षा ११–१२ का उत्कृष्ट विद्यार्थीहरू सवित्रा न्यौपाने, श्रेयसी कार्की र संस्कार भट्टराईलाई नगदसहित सम्मान प्रदान गरिएको थियो।
सामाजिक उत्तरदायित्वअन्तर्गत न्युटन्स एजुकेशनले झापा गोल्डकपलाई एक लाख रुपैयाँ आर्थिक सहयोग दिएको छ। साथै अन्य विद्यालयहरूलाई अक्षयकोष र मदरसा विद्यालयलाई समेत सहयोग उपलब्ध गराइएको थियो।
प्रमुख अतिथि जलकुमार गुरुङले गुणस्तरीय, अनुशासित र प्रविधिमैत्री शिक्षाले विद्यार्थीको सर्वाङ्गीण विकासमा योगदान पु¥याउने बताए। कार्यक्रममा शिक्षक, अभिभावक, विद्यार्थीले नृत्य, गायन, गजल र नाटकमार्फत कार्यक्रमलाई जीवन्त बनाएका थिए।


















