काठमाडौं, राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा बिहीबार राति शीतलनिवासमा ढिलासम्म चलेको सर्वपक्षीय छलफलमा पूर्वप्रधान न्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकार प्रमुख बनाउने निर्णय सबै पक्षबीच भएको छ।
राष्ट्रपति पौडेलले यसअघि एमाले, कांग्रेस र माओवादीका नेताहरूसँग पनि छलफल गरेका थिए। बैठकमा जेन–जी समूहका मागअनुसार संसद् विघटन, प्रदर्शनका क्रममा मृत्यु भएका व्यक्तिलाई सहिद घोषणा, घाइतेको उपचार र भ्रष्टाचार अनुसन्धान आयोग गठनजस्ता विषयमा छलफल भएको थियो।
कार्कीलाई टुंगो लगाइसकेपछि सम्भावित विरोध रोक्न सेनाले काठमाडौंका मुख्य सडक, शीतलनिवास, सिंहदरबार, नारायणहिटी, भद्रकालीलगायत स्थानमा बलियो सुरक्षा व्यवस्था गरेको छ। सेनाले मध्यरातको कर्फ्यूको पालना सुनिश्चित गर्दै सर्वसाधारणलाई घर फर्कन अनुरोध गरेको छ।
शीतलनिवासमा छलफल अझै जारी रहेको समाचार छ।

















