काठमाडौं: निर्वाचन प्रचारप्रसारका लागि आवश्यक खर्च बैंक खातामार्फत गर्ने व्यवस्थाअनुसार हालसम्म ६ सय ७१ उम्मेदवारले मात्र बैंक खाता खोलेका छन्।
निर्वाचन आयोग का प्रवक्ता नारायणप्रसाद भट्टराई का अनुसार कुल ३ हजार ४ सय ६ जना उम्मेदवारमध्ये करिब २० प्रतिशतले मात्रै खाता खोलेका हुन्। आयोगले राजनीतिक दल तथा उम्मेदवारहरूले प्रचारप्रसारका लागि आवश्यक सम्पूर्ण रकम अनिवार्य रूपमा बैंक खातामार्फत जम्मा र खर्च गर्नुपर्ने व्यवस्था गरेको छ।
आयोगको अनुरोधमा नेपाल राष्ट्र बैंक ले बैंक तथा वित्तीय संस्थाहरूलाई उम्मेदवारको खाता खोल्ने प्रक्रियामा सहजीकरण गर्न परिपत्र जारी गरिसकेको छ। देशभर राजनीतिक दल र उम्मेदवारहरूले खाता खोल्ने प्रक्रिया अघि बढाइरहेको प्रवक्ता भट्टराईले जानकारी दिए।
खाता खोल्ने क्रममा देखिएका समस्याबारे बैंक तथा वित्तीय संस्थाबाट जानकारी संकलन गरी आवश्यक सहजीकरण गरिने उनले बताए। उनका अनुसार खोलिएका खाताको सञ्चालन प्रयोजन, व्यवस्थापन प्रक्रिया तथा बैंकहरूले निर्वाह गर्नुपर्ने भूमिकाबारे स्पष्ट पार्न आयोगले सोमबार छलफल कार्यक्रम आयोजना गरेको थियो।
बैंक तथा वित्तीय संस्थाहरूले निर्वाचन खर्च पारदर्शी र व्यवस्थित बनाउन लागू गरिएको बैंक खाता प्रणालीमा पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। वित्तीय सुशासन कायम गर्ने सन्दर्भमा आयोगको अपेक्षाअनुसार सहयोग प्राप्त भइरहेको प्रवक्ता भट्टराईको भनाइ छ।
मतदाता शिक्षालाई प्रभावकारी बनाउन बैंक तथा वित्तीय संस्थाले सञ्चालन गर्ने मोबाइल एप, एटीएम मेसिन तथा डिजिटल डिस्प्लेहरूमा मतदाता शिक्षा सामग्री समावेश गर्न आयोगले अनुरोध गरेको पनि उनले जानकारी दिए। यस विषयमा बैंक तथा वित्तीय संस्थाहरू सकारात्मक रहेको जनाइएको छ।
आयोगद्वारा आयोजित छलफलमा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर तथा अर्थ मन्त्रालयका सम्बन्धित सहसचिवको उपस्थिति रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार