प्रदेश १ को प्रदेशसभा बैठक स्थगित गरिएको छ । आज ९आइतबार० प्रदेशसभा सचिवालयले दिउँसो सूचना जारी गर्दै बैठक आगामी कार्तिक १५ गते सम्म स्थगित गरिएको हो ।

यस अघि नेपाली कांग्रेस र नेकपा एमालेले बैठक स्थगित गर्न माग गरेका थिए । प्रदेशसभा सचिवालयले जारी गरेको सूचनामा बैठक सार्न कांग्रेस र एमालेले माग गरी निवदेन दिएकाले बैठक स्थगित गरिएको उल्लेख छ । आइतबार दिउँसो साढे १२ बजेका लागि बैठक बोलाइएको थियो ।

बैठकमा मुख्यमन्त्री भीम आचार्यले विश्वासको मत लिने कार्यसूची तय भएको थियो । तर, विश्वासको मत दिने बेलामा आफ्ना केही सांसदहरुले फ्लोरक्रस गर्ने हल्ला चलेपछि कांग्रेसले आजको बैठक रोक्न माग गरेको थियो । यस्तै एमालेले पनि ‘एमालेको दशौँ महाधिवेशन अन्तर्गत कात्तिक ९ गते पालिका अधिवेशन, ११ गते स्थायी कमिटी बैठक तथा १२ र १३ गते केन्द्रीय समितिको बैठक भएको हुँदा १४ गते बाटोको म्याद राखी १५ गते प्रदेशसभाको बैठक सञ्चालन गर्न उपयुक्त हुने व्यहोरा अनुरोध छ ’ एमालेले आज प्रदेशसभामा बुझाएको पत्रमा उल्लेख छ ।
गत भदौ १० गते मुख्यमन्त्री नियुक्त भएका आचार्यले शुक्रबार प्रदेशसभा बैठकमा विश्वासको मत सम्बन्धी प्रस्ताव पेस गरेका थिए । सरकारको नेतृत्वकर्ता एमाले विभाजन भएपछि मुख्यमन्त्री आचार्य अल्पमतमा छन् । एमालेका १० जना प्रदेश सभा सदस्यले एकीकृत समाजवादी रोजेका छन्। कुल ९३ सदस्य रहेको प्रदेश सभामा मुख्यमन्त्रीको पक्षमा ४१ जना सांसद मात्रै छन् । गठबन्धनमा कांग्रेस २१, माओवादी केन्द्र १५, एकीकृत समाजवादी १० र जसपा ३ जना गरी गठबन्धनमा ४९ जना सांसद छन् ।
सूचना
