समाचार
हल्दिबारी संवाददाता ५ महिना अगाडि

प्रधानमन्त्री कार्कीसँग नर्वेली राजदूत मियोसको शिष्टाचार भेट

काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीसँग आज नेपालका लागि नर्वेका राजदूत ड्याग्नी मियोसले शिष्टाचार भेट गर्नुभएको छ।
प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा सम्पन्न भेटमा नेपाल–नर्वे द्विपक्षीय सम्बन्ध, आपसी हितका विषय तथा समसामयिक राजनीतिक अवस्थाबारे छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
भेटका क्रममा राजदूत मियोसले नेपालकी प्रथम महिला प्रधानमन्त्रीका रूपमा कार्कीको नेतृत्वको प्रशंसा गर्दै उहाँको कार्यकालमा आगामी निर्वाचन निर्बाध रूपमा सम्पन्न हुने विश्वास व्यक्त गर्नुभयो। साथै उहाँले नेपालको शान्ति प्रक्रिया, संविधान निर्माण, जलवायु परिवर्तन र दिगो विकासका क्षेत्रमा नर्वेले गर्दै आएको सहयोग आगामी दिनमा पनि निरन्तर रहने प्रतिबद्धता जनाउनुभयो।
प्रधानमन्त्री कार्कीले असामान्य परिस्थितिमा आफू सरकारको नेतृत्वमा आउनुपरेको उल्लेख गर्दै मुलुक क्रमशः सामान्य अवस्थामा फर्किँदै निर्वाचनतर्फ अघि बढिरहेको बताउनुभयो। उहाँले नर्वेसहित अन्तर्राष्ट्रिय समुदायबाट प्राप्त विश्वास र समर्थनप्रति आभार व्यक्त गर्नुभयो।
प्रधानमन्त्री कार्कीसँग राजदूत मियोसको यो पहिलो शिष्टाचार भेट हो।
तस्बिरः केशव थापा/प्रधानमन्त्रीको सचिवालय

विज्ञापन (Advertisement) Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)